कपिलवस्तुमा पनि टाइम कार्ड लागू

कपिलवस्तुमा पनि टाइम कार्ड लागू

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले प्रशासनिक सेवालाई प्रभावकारी व्यवस्थित र अनुमान योग्य बनाउन टाइम कार्ड लागू गरेको छ । सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, छिटोछरितो तथा झन्झटरहित बनाउन हिजोदेखि टाइम कार्ड लागू भएको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले टाइम कार्ड लागू भएपछि सेवा प्रवाहलाई समसामायिक एंव प्रभावकारी बनाउने मद्धत पुग्ने विश्वास लिएको बताए । सेवालाई थप प्रभावकारी, व्यवस्थित र अनुमानयोग्य बनाई सेवाग्राहीलाई यथाशिघ्र सेवा प्रदान गर्न यो व्यवस्था शुरु गरिएको उनको भनाई छ ।

सिडिओ मिश्रका अनुसार प्रशासनले अबदेखि नयाँ नागरिकताका लागि दिउँसो १२ बजे प्रमाण पुर्याएर पेश हुन आएका निवेदकलाई १ बजेभित्र र दिउँसो १२ देखि ३ बजेभित्र पेश हुन आएका निवेदनको हकमा अपरान्ह ४ बजेभित्र नागरिकता दिनेछ । 

त्यस्तै, नागरिकताको प्रतिलिपिका लागि प्रमाण पुगेका निवेदनमाथि कारवाही गरि २ घण्टाभित्रै सेवा दिइनेछ । ई–पासपोर्ट टोकन प्रणालीअनुसार सार्वजनिक बिदा र शाखाको कार्यबोझबाहेक प्रत्येक दिन ३ बजेदेखि ४ बजेसम्म सेवा लिन सकिने सिडिओ मिश्रले बताए । 

प्रशासनले तात्कालिक राहत वितरण आधा घण्टाभित्र हुने बताउँदै विभिन्न सिफारिस, हातहतियार, नवीकरण, संस्था नवीकरण, राष्ट्रिय परिचयपत्र र नाबालक प्रमाणपत्र एक घण्टाभित्र प्राप्त गर्न सकिने जानकारी गराएको छ ।

प्रशासनले संघसंस्था दर्तासम्बन्धमा आवश्यक कागजात पुर्याएर पेश हुन आएको खण्डमा ३ घण्टाभित्र, मुद्दासम्बन्धी कार्यविधि पूरा भएपश्चात् तारेख दिने र पेशी तोक्ने कार्य ३० मिनेटभित्र र पीडित पक्षलाई दिलाई दिनुपर्ने क्रियाखर्च र क्षतिपूर्ति बापतको रकमको लेनदेन एक घण्टाभित्र हुने जनाएको छ ।

 

टिप्पणीहरू