नागरिकता विवादमा अर्को नजिर फेला

नागरिकता विवादमा अर्को नजिर फेला

विदेशी नागरिकता लिएको व्यक्तिले त्याग गरेर प्रक्रियाअन्तर्गत नेपाली नागरिकता पुनप्र्राप्ति नगरेसम्म यताको हैसियत नरहने गरी सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको अर्को नजिर पनि फेला परेको छ । यो नजिर पनि बेलायत बस्ने सुरेन्द्रबहादुर श्रेष्ठको नागरिकतासम्बन्धी विवादको पूर्व निर्णयसँग मेल खान्छ । 

तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे संलग्न संवैधानिक इजलासले कपिलवस्तु जिल्लाको साविक बुढ्डी गाउँविकास समिति घर भई बुटवल–५ बस्ने गोविन्द बेल्वासेको रिटउपर नागरिकता पुनप्र्राप्तिको बिषयमा स्पष्ट व्याख्या गरेको हो । ०७२ सालमा दायर भएको उक्त रिटको फैसला सर्वोच्चको संवैधानिक इजलासबाट ०७५ साल असार २० गते भएको छ । यसअघि सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ का कानुनव्यवसायी सुरेन्द्रबहादुर श्रेष्ठको मुद्दामा समेत यस्तै फैसला भएको तथ्य बाहिरिएको थियो । बेल्वासेले आफू ०५६ सालदेखि बेलायतमा बसोबास गरी उतै अंगीकृत नागरिकता लिए पनि नेपाली नागरिकतासमेत कायम हुनुपर्ने दाबीसहित आफूजस्ता अन्य व्यक्तिको हकका लागि नागरिकता ऐनको दफा नै खारेज गरिनुपर्ने माग राखेका थिए । 

नागरिकता ऐन, ०६३ को दफा १० मा रहेको ‘नेपाली नागरिकले अन्य कुनै देशको नागरिकता लिएमा नेपालको नागरिकता कायम नरहने’ प्रावधानले आफ्नो वैयक्तिक स्वतन्त्रता एवम् संवैधानिक हकमा आघात पुगेको जिकिरसहित त्यो दफा नै संविधानसँग बाझिएको भन्ने प्रश्न उनले उब्जाएका थिए । ‘यस संवैधानिक व्यवस्थाअनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरेको अवस्थामा पनि नेपालको नागरिक हुन सक्ने कुनै आधार रहेको देखिँदैन,’ बेल्बासेको रिटमा सर्वोच्चले बोलेको छ । यो फैसलाले विदेशी नागरिकता पाएको व्यक्ति पनि अन्य नेपाली नागरिकसरह नै नागरिकताको दावेदार हुन पाउँछ भन्ने निवेदकको दाबीलाई खारेज गरिदिएको छ ।

नेपालको नागरिकता प्राप्त कुनै व्यक्तिले अन्य विदेशी मुलुकको नागरिकता प्राप्त गरिसकेपछि पनि नेपालीकै हैसियतमा सबै राजनीतिक अधिकार दाबी गर्ने हक रहेको हुन्छ भन्ने संवैधानिक व्यवस्थाको आशय नरहेको फैसलामा उल्लेख छ । श्रेष्ठको जस्तै बेल्बासेको रिटमा सर्वोच्चले प्रष्ट भनेको छ, ‘नेपालको संविधानको धारा १३ को प्रावधान हेर्दा अन्य मुलुकको नागरिकता लिएकाले विदेशको नागरिकता परित्याग गरेको अवस्थामा कानुनले तोकेको शर्त र अवस्थाअनुसार विदेशको नागरिकता परित्याग गरी पुनः नेपालको नागरिकता पाउन सक्ने नै देखिन्छ ।’ 

‘कुनै व्यक्तिले अन्य देशको नागरिकता लिएको अवस्थामा नेपालको नागरिककै हैसियतमा मान्यता पाउन सक्छ भनी संविधानले स्पष्ट व्यवस्था नगरेको’ बेल्बासेको रिट खारेज गर्दै फैसलामा भनिएको छ, ‘एक पटक नेपालको नागरिकता पाएको व्यक्तिले अर्को देशको नागरिकता लिएपछि निजको हैसियत अन्य नेपाली नागरिक सरह(कायम) हुन्छ भनी अर्थ गर्न मिल्ने देखिँदैन ।’ उक्त फैसलाअनुसार विदेशी नागरिकता त्याग्नासाथ सोझै नेपाली नागरिकता पाउने नभै शर्त पूरा गर्नुपर्ने हुन्छ । 
 

टिप्पणीहरू