रवि लामिछानेको मुद्दामा सुनुवाई शुरु

रवि लामिछानेको मुद्दामा सुनुवाई शुरु

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा परेको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ । 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेको नागरिकता विवादको विषय निरूपण गर्न सुनुवाई थालिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय इजलासमा अहिले रिट निवेदकको तर्फबाट बहस भइरहेको छ ।

रिट निवेदकका तर्फबाट अधिवक्ता रविराज बसौला र रमण कर्णले बहस गरिसकेको बताइएको छ । गृहमन्त्री लामिछानेमाथि उनले विदेशी नागरिकता लिएसँगै रद्द भइसकेको नेपाली नागरिकता प्रयोग गरेर चुनावमा उम्मेदवारी मनोनयन गरेको अभियोग छ । त्यसविरुद्ध अदालतमा परेको रिटमा उनको सांसद पद खारेजीको माग गरिएको छ । 

सर्वोच्च अदालतले पुस २२ गते यस मुद्दाको सुनुवाई गरि अग्राधिकार दिएर आजका लागि पेशी तोकेको थियो ।

टिप्पणीहरू