बाग्मतीमा भागबण्डा मिल्यो,माओवादी र एमालेबाट मन्त्री हुनेको नाम 'कन्फर्म'

बाग्मतीमा भागबण्डा मिल्यो,माओवादी र एमालेबाट मन्त्री हुनेको नाम 'कन्फर्म'

सत्ता साझेदार तीन दलले बाग्मती प्रदेशमा मन्त्रालय भागबण्डा टुंग्याएका छन् । सरकारको नेतृत्व गरेको माओवादी, गठबन्धनको मुख्य दल एमाले र राप्रपाबीच भागबण्डाको सहमति भएको हो ।सहमतिसँगै मुख्यमन्त्री शालिकराम जमरकटेलले आजै क्याबिनेट विस्तार गर्न लागेका छन् । १४ मन्त्रालयबाट ३ वटा कटौती गरेर ११ कायम गरिएकोमा एमाले र माओवादीले समान ४-४ वटा मन्त्रालय लिने छन् । बाँकी ३ वटा राप्रपाले पाउने छ । 

माओवादी र एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा जानेको नामसमेत तय गरेका छन् । मुख्यमन्त्रीसहित चार मन्त्रालय पाएको माओवादीले सिन्धुपाल्चोकका युवराज दुलाल, मकवानपुरबाट कुमारी मोक्तान र सिन्धुलीका गङ्गानारायण श्रेष्ठलाई मन्त्री बनाउन लागेको छ । यसपटक पनि माओवादीबाट क्याबिनेटमा काठमाडौँको प्रतिनिधित्व नहुने भएको छ । प्रदेशसभाको अघिल्लो कार्यकालमा पाँचै वर्ष सरकारमा रहेको माओवादीले उपत्यकाबाट कसैलाई पनि मन्त्री बनाएको थिएन । 

एमालेको भागमा परेको ४ मन्त्रालयमध्ये चितवनका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । बाँकी तीनजनामा मकवानपुरका एकालाल श्रेष्ठ, काठमाडौंका केशव पोखरेल र ललितपुरका रामेश्वर श्रेष्ठ छन् । राप्रपाबाट उद्धव थापा यसअघि नै  मन्त्री भएपनि थप २ जनाको नाम बाहिर आएको छैन ।   

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी पनि सरकारमा जान इच्छुक देखिएका थिए । तर, भागबण्डा पुर्याउन नसकेपछि दुवै पार्टीबाट क्याविनेटमा प्रतिनिधित्व नहुने भएको छ ।

टिप्पणीहरू