निजी अस्पतालभन्दा सरकारी चर्को

निजी अस्पतालभन्दा सरकारी चर्को

दोलखाको सदरमुकाम चरिकोटमा रहेको जिल्लाकै ठूलो सरकारी अस्पताल ‘पशुपति चौलागाईं स्मृति अस्पताल’ ले निर्धारण गरेको उपचार शुल्कप्रति आपत्ति जनाइएको छ । अस्पताल सञ्चालनका लागि भन्दै हाल निर्धारण गरेको शुल्कप्रति स्थानीयसहित नागरिक अगुवा, उद्यमी र सञ्चारकर्मीहरुले विरोध जनाएका हुन् । 

निःशुल्क उपचार गर्दै आएको अस्पतालले स्रोत साधनको अभाव देखाउँदै सेवाग्राहीसंग चर्को शुल्क लिएपछि जिल्लाभरबाट विरोधको आवाज उठेको छ । प्रदेश सरकार मातहत रहेको यो अस्पतालमा आउने सेवाग्राहीलाई निःशुल्क उपचार गर्ने भन्दै विदेशी लगानी रहेको गैरसरकारी संस्थाले सात वर्षअघि १० वर्षका लागि सम्झौता गरेको थियो । 

तर, कोरोना महामारीले अन्तर्राष्ट्रिय सहयोग रोकिएको कारण देखाएर संस्थाले दुई वर्षदेखि स्वास्थ्योपचारबाट हात झिक्यो ।त्यसयता केही समय भीमेश्वर नगरपालिका र प्रदेश सरकारले अस्पतालको खर्च धान्दै आएको थियो । 

तर, स्रोतको अभाव चुलिँदै गएपछि अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले शुल्क निर्धारण गरेको हो । उक्त शुल्क निजी अस्पतालको भन्दा मँहगो भएको स्थानीयहरुको भनाइ छ । विभिन्न जिल्लाका सरकारी अस्पतालमा निःशुल्क पाइने सेवामा समेत ढाड सेकिने गरी शुल्क निर्धारण गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । 

अस्पतालले तोकेको शुल्क मान्य नहुने उल्लेख गर्दै बैठकले गरेको निर्णय तुरुन्त फिर्ता गर्न माग गरिएको छ ।

टिप्पणीहरू