प्रेमले पोलेका सबैमाथि कारवाहीको माग

प्रेमले पोलेका सबैमाथि कारवाहीको  माग

हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले इलामका प्रेमप्रसाद आचार्यले किटान गरेका सम्पूर्णमाथि छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । 

आचार्यले किटान गरेका सम्पूर्ण व्यक्ति,संघसंस्था,फर्म,प्रहरी, कर्मचारी,बित्तीय कारोबार गर्ने बैंक र कृषि अनुदान नदिने निकायप्रति सरकारद्वारा सत्यतथ्य छानबिन गरी दोषीउपर कानूनबमोजिम कारबाही गर्न पार्टीले माग गरेको हो । आज विज्ञप्ति जारी गर्दै उसले हिजो संसद भवनअगाडि आचार्यले आत्मदाह गर्नुमा अहिलेको सरकार र यसका जिम्मेवार निकायहरु दोषी रहेको पनि दावी गरेको छ ।

जुन सरकार आएपनि देशमा भ्रष्ट, नालायक र माफियाहरुकै मात्र रजगज हुनु तथा गरिखाने युवा बाँच्नसमेत मुस्किल वातावरण बन्दै गएको भन्दै लौरो अभियानले जनप्रतिनिधिदेखि प्रहरी,निजामती कर्मचारी,न्यायालय,नेता,बैंकर र ठूला सीमित माफिया व्यापारीले गरेको लुट र ठगीले यो घटना भएको आरोप लगाएको छ ।

‘एक होनहार युवा जो आफ्नै देशमा केही गरेर,उद्यमी व्यवसायी बनेर गरिखान रातदिन दुःख गरिरहेका थिए तर अफसोच उनलाई बाँच्नै मुस्किल हुने वातावरण अहिलेको सरकार र यसका निकायले गरिदियो,’ विज्ञप्तिमा भनिएको छ, ‘उनलाई सरकारका हरेक निकाय र ठूला केही व्यवसायीहरुद्वारा चौतर्फी घेराबन्दी गरियो,बाँच्ने आधार नै नभएझैँ परिस्थिति बनाइयो अनि उनले आफूलाई आत्महत्याजस्तो दुःखद परिस्थितिको नजिक पुर्याए ।’

आचार्यले लिएको ऋण चुक्ता गराउन र उनकी दुई छोरीको शिक्षाको निम्ति उनको परिवारलाई सहयोगको अपिल गर्दै पार्टीले आचार्यका २५ बुँदे सुझावप्रति आफ्रनो पार्टीको ध्यानाकर्षण भएको भन्दै ती माग पूरा गर्न सरकारसमक्ष माग गरेको छ ।

टिप्पणीहरू