विक्रम र डोलराजलाई मन्त्री बनाएकोमा आपत्ति

विक्रम र डोलराजलाई मन्त्री बनाएकोमा आपत्ति

राजनीतिक दलहरुले स्वार्थ बाझिने गरी विभिन्न व्यक्तिलाई मन्त्री बनाएकोमा ट्रान्सपरेन्सी इन्टरनेशलले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुध्द व्यक्त गरेको नीतिगत प्रतिबध्दतासँग मेल नखाने गरी क्याबिनेटमा स्वार्थ बाझिएका व्यक्तिहरु रहेको तथ्यप्रति ट्रान्सपरेन्सीले चासो व्यक्त गरेको हो । आज विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सीले प्रधानमन्त्रीले मुलुकलाई सुशासनको बाटोमा हिँडाउन प्रतिबध्द रहेको अनुभूति दिलाउन स्वार्थ बाझिएका मन्त्रिपरिषद सदस्यहरुका सम्बन्धमा तत्काल निर्णय लिनुपर्नेसमेत उल्लेख छ । 

‘नवगठित मन्त्रिपरिषदमा स्वार्थ जोडिएकै व्यक्तिहरु नियुक्त भएको विषय आम तहमा समेत व्यापकरुपमा उठिरहेको हुँदा तत्काल यसको निर्क्यौल हुनुपर्ने भन्ने मान्यता टीआई नेपालको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्थया भ्रष्टाचारविरुध्द सरकारको प्रतिबध्दता कार्यान्वयन हुन असहज हुने र सरकारप्रतिको जनअपेक्षा निराशातर्फ धकेलिने देखिन्छ ।’

लोकतन्त्रको विश्वव्यापी मान्यताअनुरुप मन्त्रिपरिषद्का सदस्यहरुले आफू संलग्न रहेको संस्था, कम्पनी, सेयर कारोबार, आफूसँग भएका चलअचल सम्पत्ति अविलम्बन सार्वजनिक गर्नुपर्ने कुरा पनि ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले स्मरण गराएको छ ।  

साथै, सुशासनका खातिर क्याविनेटका सदस्यहरु स्वयं निःशर्त कानून पालन गर्न अग्रसर हुनुपर्ने र नीति, निर्णय एंव कानूनी प्रक्रिया प्रभावित हुनसक्ने कुनै पनि कार्यबाट पृथक रहनुपर्नेमा उसको जोड छ ।

प्रचण्ड नेतृत्वको सरकारमा मेनपावर व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलराज आचार्य श्रम मन्त्री छन् । विवादास्पद ठेकेदार विक्रम पाण्डेलाई राप्रपाले शहरी विकास मन्त्री बनाएको छ । यी दुईलाई स्वार्थ बाझिने गरि मन्त्री बनाएको भन्दै आमतहमा समेत रास्वपा र राप्रपाको चर्को विरोध भैरहेको छ ।

टिप्पणीहरू