चोर समात्नेलाई १० हजार पुरस्कार

चोर समात्नेलाई १० हजार पुरस्कार

प्यूठानको गौमुखी गाउँपालिकाले चोरी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने स्थानीयलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

चोरी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी शान्तिसुरक्षामा सहयोग गर्ने स्थानीयलाई गाउँपालिकाले १० हजार नगद पुरस्कार दिन लागेको हो । 

गाउँपालिकाले आज सूचना जारी गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सहजिकरणका लागि गाउँटोलमा गठन भएका विभिन्न सामाजिक संघसंस्था–समूहहरुलाई नागरिकस्तरबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ । 

‘समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सहजिकरणका लागि गाउँपालिकाका विभिन्न बजार तथा गाँउटोलमा गठन भएका विभिन्न सामाजिक संघसंस्था समूहहरुलाई नागरिक स्तरबाट आवश्यक सहयोग गर्नुहुन अनुरोध छ’, सूचना भनिएको छ । 

त्यस्तै, कुनै शंकास्पद व्यक्ति–समूह फेला परेमा जिल्ला प्रहरी कार्यालयको टोल फ्रि नम्बर १००, ईलाका प्रहरी कार्यालय वा सम्बन्धित वडाध्यक्षलाई सम्पर्क गर्न गाउँपालिकाले सुसूचित गराएको छ । 

विभिन्न ठाँउहरुमा पेशेवर लुटेराहरुको शैलीमा चोरी र लुटपाटका घटनाहरु बढेको उल्लेख गर्दै गाउँपालिकाले घुमन्ते व्यापारीहरुलाई गाउँपालिकाभित्र प्रवेशमा रोक लगाएको छ ।

टिप्पणीहरू