आज श्रीपञ्चमी, सरस्वती मन्दिर र शिक्षालयमा पूजा आराधना

आज श्रीपञ्चमी, सरस्वती मन्दिर र शिक्षालयमा पूजा आराधना

आज श्रीपञ्चमी । सरस्वती मन्दिर र विद्यालय तथा शिक्षालयमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदैछ । सरस्वतीलाई विद्याकी देवी मानिन्छ । 

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने श्रीपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ । आज भारत र नेपालमा ठूलो उत्साहसहित सरस्वती पूजा मनाइन्छ ।

आजका दिन खासगरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रको पूजा गर्छन् । आज शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको छ । आजको दिनलाई विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ । 

आजदेखि ऋतुहरुको राजा वसन्तको सुरुवात हुने भएकाले वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्ममा राष्ट्रपतिद्वारा वसन्तपुर पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सर्वसाधारणहरु उपत्यकाका पशुपति, जयबागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगुनारायण, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

बौद्ध धर्मावलम्वीले सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्दछन् । ऋग्वेदमा वाग्देवी अर्थात् वाणीकी देवी मानिएकी सरस्वती भएजस्तै बौद्ध सभ्यतामा ज्ञानका बुद्धलाई मन्जुश्रीका रुपमा लिइन्छ ।

टिप्पणीहरू