पत्रकारमाथि दुर्व्यवहार,कारबाहीको माग

पत्रकारमाथि दुर्व्यवहार,कारबाहीको माग

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य एवम फेवा टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरेमाथि समाचार संकलनका क्रममा दुर्व्यवहार भएको छ । 

स्याङ्जाको आँधीखोला गाउँपालिका ४ वाङसिङ दहमा खानेपानी आयोजनाबारे समाचार संकलन गर्न पुगेका घिमिरेमाथि दुर्व्यवहार भएको हो । आफू पत्रकार भएको जानकारी गराएर परिचयपत्र देखाउँदा पनि अपशब्द बोलेर स्थानीयले भौतिक आक्रमण गरेको उनको दाबी छ । पत्रकार भएको जानकारी गराउँदा गराउँदै पनि अस्वभाविक रुपमा जाइलागेको घटनाले समग्र पत्रकारितामाथि सुरक्षाको प्रश्न उठाएको नेपाल पत्रकार महासंघ, कास्कीले जनाएको छ । 

‘स्याङजाको आँधीखोला गाउँपालिका ४ वाङसिङ दहमा खानेपानी आयोजनाका बारेमा समाचार संकलनका लागि पुग्नुभएका घिमिरेलाई स्थानीयले गरेको दुर्व्यवहारको पत्रकार महासंघ कास्की निन्दा र भर्त्सना गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ । कुनै विषयमा चित्त नबुझे वार्ता र संवादबाट समाधान गर्न र कानुनी उपचारको बाटो हुँदाहुँदै घिमिरेलाई गरिएको दुर्व्यवहारको बारेमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न महासंघले माग गरेको छ । 

आगामी दिनमा पत्रकारलाई निर्वाध रुपमा समाचार संकलन, प्रशारण र प्रकाशनको वातावरण मिलाउन सम्बन्धित पक्षलाई महासंघले ध्यानाकर्षणसमेत गराएको छ ।

 

टिप्पणीहरू