कालिमाटी-कुलेश्वरतिर किन गएन बालेनका आँखा ?

कालिमाटी-कुलेश्वरतिर किन गएन बालेनका आँखा   ?

राजधानीमा पार्किङको समस्या जटिल बन्दै गएपछि काठमाडौं महानगरपालिकाले ‘अण्डरग्राउण्ड पार्किङ’ खाली गर्ने अभियान शुरु गर्यो । जथाभावी पार्किङ गर्दा ट्राफिक अस्तव्यस्त र राजधानी कुरुप देखिएको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले बेसमेन्ट खाली गराउने अभियान थाले । 

शुरुका दिनमा मेयर बालेन आफैं डोजर र घरको नक्सा लिएर बेसमेन्ट खाली गराउन घरघरमा पुगेका थिए । नक्सामा पार्किङ उल्लेख भएपनि व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि धमाधम बेसमेण्टमा बनाइएका संरचना भत्काउन थालियो । महानगर प्रहरीको गस्तीले विभिन्न ठाँउमा पुगेर बेसमेण्ट खाली गरायो । 

महानगरले ३५ दिने सूचना जारी गर्दै बेसमेण्ट खाली गर्न निर्देशनसमेत दियो । अटेर गर्नेको पसलमा महानगरको डोजर चलिहाल्थ्यो । जसका कारण अधिकांशले आफैं बेसमेण्टमा सञ्चालित पसल हटाए । काठमाडौंले चालेको कदमको सिको गर्दै अन्य महानगरपालिका र नगरपालिकाले पनि बेसमेण्ट हटाउने अभियान चलाए । 

सडक छेउछाउ जथाभावी पार्किङ गर्दा पैदलयात्रीले एकदमै हैरानी पाएका थिए । खुल्ला रुपमा  हिँड्नका लागि पनि महाभारत थियो । राजधानीको एकदमै भीडभाड हुने रत्नपार्क,न्यूरोड, इन्द्रचोक,नयाँ बानेश्वर, पुतलीसडक,कालीमाटी, कुलेश्वर,बागबजार, अनामनगर,शान्तिनगर, बबरमहल, माइतीघरलगायतका स्थानमा सडकमै पार्किङ गर्ने चलनचल्ती थियो । 

‘मेयर बालेन मधेशी मूलको,यहाँ व्यापार गर्ने पनि मधेशी मूलकै । एउटै मूलको परेपछि थिचोमिचो गर्ने कुरै भएन । आफ्नो मूलकालाई बचाएर उहाँले अरुमाथि विभेद गर्नुभएको छ’,

काठमाडौंका विभिन्न सपिङ मलमै जानुपरेमा पनि सडकमा सवारी पार्किङ गर्नुपर्ने बाध्यता थियो । पार्किङ गर्ने ठाँउ नभएपछि विकल्प नै सडक बन्न पुग्यो । काठमाडौंमा पार्किङको समस्या अहिलेको होइन उहिलेदेखिको हो ।   

धेरै मेयर आए,गए तर कसैले यसलाई जराबाटै निराकरण गर्न सकेनन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा निर्वाचित भएर आउनेबित्तिकै मेयर बालेन यसको हल खोज्न अनुगमनमा निस्किए । 

पार्किङको समस्या कम गर्ने भन्दै काठमाडौं महानगरले ‘अण्डरग्राउण्ड पार्किङ’ लाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने तयारी थाल्यो । बेसमेन्टलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गर्दै महानगरले अटेर गर्ने अधिकांशलाई कारबाहीसमेत गरेको रेकर्ड छ । 

घर तथा भवन बनाउँदा पार्किङको नक्सा पास गरेपनि घरधनीले व्यापारिक प्रयोजनका लागि भाडामा लगाउँदै आएका थिए । अण्डरग्राउण्ड वर्कसप, होटल तथा रेष्टुरेण्ट, किराना पसल, अटो शोरुम,फेन्सी पसललगायतका व्यापार गर्ने थलो बनेको थियो । 

तर,महानगरको कारबाही शैली देखेर अधिकांश व्यापारीले आफ्नो पसल हटाए । नयाँ बानेश्वर, शान्तिनगर, माइतीघरलगायत थुप्रै स्थानमा अहिले बेसमेन्ट पार्किङकै लागि प्रयोग भएको देख्न सकिन्छ । महानगरको निर्णय राजधानीको अधिकांश स्थानमा पालना भएको देखिए पनि कालिमाटी, कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा यसको कुनै प्रभाव परेको छैन । 

बेसमेण्टमा सटर राखेर व्यापार गर्ने समस्या यस क्षेत्रमा ज्युँको त्युँ छ । कालिमाटी चोकैमा रहेको कृष्ण डंगोलको घरमा वर्ल्डलिंक कम्पनीको शाखा सञ्चालनमा छ । बेसमेण्टमा कार्यालय हुँदा त्यहाँ आउने सेवाग्राहीहरुले सडकमै पार्किङ गर्ने गरेका छन् । त्यस्तै,आवा कम्प्लेक्सको ‘अण्डरग्राउण्ड पार्किङ’ मा फर्निचर शोरुम छ । 

सवारी पार्क गर्नुपर्ने डिभाइन कम्प्लेक्सको बेसमेण्टमा किराना पसल खोलेर व्यापार गरिँदै आएको छ । तीन वटा बेसमेण्ट रहेको गृहस्थ कम्प्लेक्समा सवारी पार्क गर्ने ठाँउ छैन । त्यहाँ सबै गोदाम भएकाले सडकलाई पार्किङ गर्ने थलो बनाइएको छ । जसले गर्दा पैदलयात्रीलाई हिँड्डुल गर्नमा समस्या छ । 

विभिन्न ठाँउको बेसमेण्ट खाली गराइरहँदा मेयर बालेनको आँखा यता परेको छैन । यस क्षेत्रमा अधिकांश मधेशी मूलका व्यापारी भएकाले उनी हात बाँधेर बसेको सर्वसाधारणको आरोप छ । यहाँ अधिकांश वर्कसप,गोदाम,सिरक डसना पसललगायतका व्यापार व्यवसाय सञ्चालनमा छन् । 

प्राय:जसो पसलमा मधेशी मूलकै साहुजी देख्न सकिन्छ । त्यसैले पनि मेयर बालेनले त्यस क्षेत्रको अण्डरग्राउण्ड पार्किङमा सञ्चालित व्यापार व्यवसाय हटाउन चासो नदेखाएको बुझिन्छ । 

‘मेयर बालेन मधेशी मूलको,यहाँ व्यापार गर्ने पनि मधेशी मूलकै । एउटै मूलको परेपछि थिचोमिचो गर्ने कुरै भएन । आफ्नो मूलकालाई बचाएर उहाँले अरुमाथि विभेद गर्नुभएको छ’, एक व्यापारीले आफ्नो गुनासो पोखे । 

यता,महानगर प्रहरी प्रमुख राजु पाण्डेले अण्डरग्राउण्ड पार्किङ हटाउने कार्य तीव्रताका साथ अघि बढेको दाबी गरेका छन् । महानगर प्रहरीको टोली यो कार्यका निमित्त दिनहुँ खटिएको उनको भनाइ छ । 

‘महानगर प्रहरीले चार ठाँउमा कार्यालय खडा गरेर बेसमेण्ट खाली गराइरहेको छ । नयाँ बानेश्वर,बागदरबार, बालुवाटार र कालिमाटीमा कार्यालय बनाएका छौं । महानगर प्रहरीले अण्डरग्राउण्ड पार्किङ खाली गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ’, उनले भने,‘हामीले एकचोटि पार्किङमा सञ्चालित पसल खाली गरेर आउँछौं,फेरि राखिहाल्नुहुन्छ । त्यसैले पनि अलिक अप्ठ्यारो परेको हो । पार्किङमा व्यापार गर्न पाँइदैन, जुनैसुकै ठाँउको र जो कोही भएपनि महानगरले हटाउँछ ।’

टिप्पणीहरू