भैंसी हरायो,सूचना भाइरल

भैंसी हरायो,सूचना भाइरल

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० ले भैंसी हराएको भन्दै सूचना जारी गरेको छ । वडा कार्यालयले भैंसी हराएको भन्दै गत माघ १० गते जारी गरेको सूचना यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

सूचनामा भनिएको छ,‘शिवसताक्षी नगरपालिका वडा नम्बर १० टेकाबाट राम बहुउद्धेश्य कृषि फर्ममा पालेका भैंसीहरु माईखोलाको बगरमा चराउन लैजाँदा अन्दाजी साढे दुई वर्षका गुजराती जातका दुई वटा ब्याउने पाडीहरु २०७९–१०–९ गते टेका पश्चिम खोला बगरबाट भागेर हराएको र २४ घण्टासम्म खोजबिन गर्दा पनि नभेटेको हुँदा भेट्नुहुने महानुभावले तल उपलब्ध गराएको नाम, नम्बरमा सम्पर्क गरिदिनुहुन सिफारिस गरिएको व्यहोरा अनुरोध छ ।’

साथै,भैंसी मालिक सुभाष चापागाईं र हेमराज चापागाईंको नम्बरसमेत उपलब्ध गराइएको छ । उक्त सूचनामाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले थुप्रै टिकाटिप्पणी गरेका छन् । सामाजिक सञ्जाल दुई भागमा विभाजित भएको देख्न सकिन्छ ।

कतिपयले वडाको निर्णयमा समर्थन गरेका छन् त कतिपयका लागि यो विषय मजाक बनेको छ । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्,‘जे हुन्छ झापामै हुन्छ,जय झापा ।’

त्यसमाथि अर्कोले थपेका छन्,‘काण्डहरुमा स्याङजाली र झापालीको प्रतिस्पर्धा हो कि के हो ? स्याङजामा राँगो काण्ड र झापामा भैंसी काण्ड ।’

त्यस्तै, वडा पक्षधरले भनेका छन्,‘स्थानीय निकाय भनेको जनताको नजिकको सरकार हो । जनताको साना साना समस्यामा समेत नजर पुगोस् भनेर नै स्थानीय सरकारको व्यवस्था गरिएको हो । त्यसैले यो सूचना जनहितमै जारी छ ।’

यता, सुभाषले भने भैंसी नभेटेपछि वडामा जानकारी गराउनुपरेको बताए । लगातार खोजतलास गर्दा पनि भैंसी फेला नपरेपछि अन्तिम विकल्प सोचेर वडाध्यक्षलाई सूचना जारी गर्न आग्रह गरेको उनको भनाइ छ । 

‘लगातार खोज्दा पनि फेला नपरेपछि प्रहरीमा पनि उजुरी दिएका थियौं । वडाध्यक्षले पनि मद्दत गर्नुभयो । हाल भैंसी फेला परिसकेको छ । नजिकैको खोंचमा अड्किएको रहेछ, बल्लतल्ल उद्धार गरियो’, उनले भने ।

टिप्पणीहरू