भेरीगंगाका दीर्घ रोगीलाई महिनैपिच्छे नगद २ हजार

भेरीगंगाका दीर्घ रोगीलाई महिनैपिच्छे नगद २ हजार

सुर्खेतको भेरीगंगा नगरपालिकाले जटिल रोग लागेका बिरामीलाई मासिक दुई हजार नगद सहयोग गर्ने भएको छ । 

नगरपालिकाले ९ वटा रोगका बिरामीलाई औषधी उपचारमा सहयोग पुर्याउने उद्धेश्यले मासिक दुई हजारका दरले रकम उपलब्ध गराउन लागेको हो । पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय नगरसभाबाट पारित गरी दीर्घ रोगबाट पूर्णअशक्त भएका बिरामीलाई औषधी उपचारका लागि मासिक दुई हजारका दरले सहयोग गर्न लागेको मेयर यज्ञप्रसाद ढकालले बताए ।

जटिल प्रकारका दीर्घ रोगबाट पूर्णअशक्त भएका बिरामीलाई उपचार खर्चसम्बन्धी कार्यविधि २०७९ अनुसार ९ वटा रोगको पहिचान गरि उपचार खर्चस्वरुप महिनाको दुई हजार दिने निर्णय गरेको उनले जानकारी दिए । मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकलसेल र प्यारालाइसिस भएका बिरामीलाई यस्तो सहयोग दिने नगरपालिकाको निर्णय छ । 

दीर्घरोगबाट पीडित भएकालाई सो रकम प्राप्तिका लागि चिकित्सक र वडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि तथा रोग प्रमाण गर्ने आवश्यक कागजातसहित नगरपालिकामा सम्पर्क गर्न नगर प्रमुख ढकालले अनुरोध गरे । उनले नगरपालिकाले स्वास्थ्य सम्बन्धिको लागि करिब ३० लाख बजेटसमेत छुट्याएको पनि जानकारी गराए ।

टिप्पणीहरू