रामपुरका वडामा डिजिटल वडापत्र

रामपुरका वडामा डिजिटल वडापत्र

पाल्पाको रामपुर नगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा दिन डिजिटल प्रविधिको नागरिक वडापत्र राखेको छ । नगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि यस्तो सेवा शुरु गरेको हो । 

नगर कार्यालयबाट प्रवाह हुने सेवाको विस्तृत जानकारीसहितको डिजिटल वडापत्र सेवाग्राहीले सहजै आफूले लिन चाहेको सेवाका बारेमा विस्तृत जानकारी पाउने छन् । मेयर रमणबहादुर थापाका अनुसार वडापत्रमा कार्यालयबाट प्रवाह हुने ६० प्रकारका सेवा कसरी र कहाँ लिने ? भनेर उल्लेख गरिनुका साथै यसका लागि आवश्यक कागजी प्रक्रियाको बारेमा पनि स्पष्टरुपमा बताइएको छ ।

त्यस्तै, डिजिटल नागरिक वडापत्र कसरी चलाउने भन्ने सञ्चालन विधि पनि राखिएको छ । सेवाग्राहीले लिन चाहेको सेवाको बारेमा आवश्यकताअनुसार स्वयम हेर्न सक्ने मेयरको भनाइ छ । प्रविधिको युगसँगै सरल र सहज रुपमा सेवाग्राहीले लिन चाहेको सेवाको विषयमा जानकारी गराउन वडा कार्यालयहरुमा पनि यस्तो सेवा शुरु गरिएको नगरपालिकाले जानकारी दिएको छ । 

मेयर थापाले भने, ‘रामपुर नगरलाई प्रविधिमय बनाउन र समयानुकूल भित्रिएका प्रविधिको उच्चतम प्रयोगसहित हरेक सेवाका लागि सेवाग्राहीलाई सहज महसुस गराउन हामीले उक्त वडापत्र नगरका तीन वटा वडा कार्यालयमा राखेका हौं ।’ 

नगरपालिकाको वडा नं. ४, ५ र ६ मा डिजिटल नागरिक वडापत्र राखिसकेको उनले जनाए ।

टिप्पणीहरू