कर उठाउन महानगरको टोली घर-घरमा

कर उठाउन महानगरको टोली घर-घरमा

विराटनगर महानगरपालिकाले राजस्व संकलन बढाउन 'करदाता शिक्षा' अभियान सुरु गरेको छ । महानगरले राजस्व वृद्धिका लागि घरदैलोमै पुगेर यस्तो अभियान चलाएको हो । 

अभियानमा महानगरका जनप्रतिनिधि एंव सम्बन्धित शाखाका कर्मचारीहरु सचेतनाका लागि खटिएका छन् । उपप्रमुख शिल्पा निराला कार्कीले उत्तरी सिमाना खारजी कोहवराबाट करदाता शिक्षा अभियानको सुरुवात गरेको बताइन् । 

उनले महानगरको वडा नं. २ मा जनप्रतिनिधि र कर्मचारीले घर, पसल तथा कारोबारस्थलमा पुगेर वडाबासीलाई कर तिर्नुपर्ने दायित्वबारे बताएको जानकारी गराइन् । गत मंसिर २९ गते नगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले यस अभियानको सुरुआत गरेका थिए । 

महानगरले करदाता शिक्षाका साथै कर तिरेको वा नतिरेको बारेमा नियमन गर्ने उद्देश्यले मंगलबारदेखि अभियान थालेको बताएको छ । घरदैलो अभियानमा महानगरका जनप्रतिनिधि एंव कर्मचारीहरुले करका विभिन्न शीर्षकमा जरिवाना छुट गरिएको बताउँदै म्यादभित्र नै सम्पूर्ण कर चुक्ता गर्न वडाबासीलाई आग्रह गरेका थिए ।

‘हामीले घरदैलो अभियानमा घर र पर्खालको नक्सा पास गरेको या नगरेको, सम्पत्ति कर, बहाल कर तिरेको या नतिरेको, व्यवसाय दर्ता र नवीकरणलगायतका प्रक्रिया गरेको या नगरेको भन्ने यकिन गर्दै वडाबासीसँग मित्रवत संवाद गरेका छौँ’, उपप्रमुख कार्कीले भनिन् । 

अभियानले प्रभावकारी रुप लिदैँ गएको दावी गर्दै महानगरले चालु आर्थिक वर्षको अन्तसम्म यो अभियान जारी रहने बताएको छ ।

टिप्पणीहरू