रविको नागरिकतासम्वन्धी सुनुवाई सकियो,केही बेरमै फैसला

रविको नागरिकतासम्वन्धी सुनुवाई सकियो,केही बेरमै फैसला

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दाको सुनुवाइ सकिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय इजलासमा दुवैतर्फका कानुन व्यवसायीले बहस गरेसँगै सुनुवाई सकिएको हो । 

आज शुरुमा रविका वकिलहरुले बहस गरेका थिए भने रिट निवेदकका तर्फबाट जवाफी बहस भएको थियो । रविको पक्षबाट वरिष्ठ अधिवक्ताहरु नरेन्द्र केसी, आशिष अधिकारी, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए । यस्तै, रिट निवेदकका तर्फबाट रमन कर्ण, सुरेन्द्र भण्डारी, कीर्तिनाथ शर्मा पौडेलले .लगायतले जवाफी बहस गरे । 

बहस सकिएसँगै न्यायधीशहरु फैसलाबारे छलफलमा जुट्नुभएको छ । लामिछानेमाथि अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्तिको प्रक्रियामा नगई रद्द भइसकेको पुरानै नागरिकतालाई अभ्यासमा ल्याएको आरोप छ । पुरानै नागरिकताको आधारमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीको मागसहित गत २८ मंसिरमा सर्वोच्चमा रिट दर्ता भएको थियो । 

उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले पुस २२ गते सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेशसहित माघ ११ का लागि अग्राधिकार दिएर पेशी तोकेको थियो । बुधबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सम्भवतः आजै अन्तिम फैसला हुनेछ ।

टिप्पणीहरू