डोजर आतंकविरुद्ध सडकमा ओर्लिए सुकुम्बासी

डोजर आतंकविरुद्ध सडकमा ओर्लिए सुकुम्बासी

काठमाडौँ महानगरपालिकाले प्रहरी लगाएर सुकुम्बासी बस्ति हटाउन हिजो गृह मन्त्रालयसँग सहयोग मागेपछि संयुक्त सुकुम्बासी मोर्चा विरोधमा उत्रिएको छ । मोर्चाले आज काठमाडौंमा बृहत विरोध प्रदर्शन गरेको हो ।  

सयौँको संख्यामा आएका सुकुम्बासीहरु माइतीघरको सडकमै धर्नामा बसेका छन् । ब्यानर र प्लेकार्डसहित धर्नामा उत्रिएका प्रदर्शनकारीहरुले डोजर आतंक बन्द गरेर भू–स्वामित्व प्रदान गर्न माग गरेका छन् । त्यस्तै, भूमि अभियान्तामथिको झूठो जाहेरी निसर्त फिर्ता गर्नुपर्ने, भूस्वामित्वसहितको स्थायी विकल्प बिना उठिबास लगाउन नपाइने, भूमि ऐन बमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरणलगायतका माग गरेका छन् ।  

माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका उनीहरुले ‘डोजर आतंक बन्द गर', 'जबरजस्ती उठीबास बन्द गर', 'महानगरको सम्झौता कार्यन्वयन गर', 'काठमाडौं सुकुम्बासीको पनि हो', 'सुकुम्बासीमाथि लगाएको मुद्दा निसर्त फिर्ता गर’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए । 

धर्नामा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्की, केन्द्रीय सदस्य नरेन्द्र लामा, सल्लाहकार दलमर्दन कामीलगायत करिब २०० जनाको उपस्थिति रहेको छ । काठमाडौँका मेयर बालेन्द्र शाहले हिजो गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुकुम्बासी बस्ति खालि गराउन सहयोगको आग्रह गरेका थिए ।

टिप्पणीहरू