भारतले उठायो सिन्धु जल सन्धि संशोधनको प्रसंग

भारतले उठायो सिन्धु जल सन्धि संशोधनको प्रसंग

भारतले पाकिस्तानसँग सिन्धु नदी जल सन्धि संशोधनको विषय उठाएको छ । दुई मुलुकबीच सन् १९६० को सेप्टेम्बरमा उक्त सन्धि भएको थियो । सन्धिमा तत्कालीन  पाकिस्तानी राष्ट्रपति अयुब खान र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले हस्ताक्षर गरेका थिए ।

भारतले सन्धि संशोधनको निम्ति पाकिस्तानलाई गत बुधवार पत्राचार गरेको जनाएको छ । पत्रमा किसेनगंगा र रातले जलविद्युत आयोजनामा देखिएको समस्या समाधानका लागि पाकिस्तानले पहल गर्नुपर्ने भारतीय जिकीर छ ।

ती दुई जलविद्युत् आयोजनाको विवाद समाधान प्रक्रिया विगत पाँच वर्षदेखि ठप्प छ । नयाँ दिल्लीले इस्लामावादलाई त्यसबारे छलफल गर्न ९० दिनको समय दिएको छ । उसले सो अवधिभित्र उक्त विषयमा अन्तरसरकारी छलफल गर्न आग्रह गरेको बताइएको छ ।

हिमालय क्षेत्रबाट बग्दै आएको सिन्धु नदी भारतीय भूमि हुँदै पाकिस्तानी क्षेत्रमा बग्छ । पाकिस्तानका विशाल मैदानहरू हुँदै नदी अरब सागरमा पुग्छ । सन् १९६० सेप्टेम्बरमा भारत र पाकिस्तानबीच सिन्धु जल सन्धि भएको थियो । कश्मिर र लद्दाख क्षेत्रबाट निस्केको उक्त नदीमध्ये केही पश्चिमबाट बगेर पाकिस्तानमा झर्छन् भने केही पूर्वतिर बग्छन् । सोही कारण दुई देशबीच नदीको पानी बाँडफाँडको सन्दर्भमा सो सम्झौता निकै महत्वपूर्ण मानिन्छ ।

सम्झौताअनुसार भारतले पूर्वतर्फ बग्ने सतलज,ब्यास,रावीलगायत नदीको पानी बिना अवरोध प्रयोग गर्न सक्छ । पश्चिममा बग्ने सिन्ध, चेनाब,झेलमलगायत नदीहरूको अधिकांश पानी पाकिस्तानले उपभोग गर्न पाउँछ । सम्झौताअनुसार ती नदीहरूमा जलविद्युत वा विभिन्न आयोजना निर्माण गर्ने अधिकार भारतलाई रहेको छ ।

तर सम्झौतामा पाकिस्तानलाई परियोजनामा आपत्ति जनाउने अधिकार दिइएको छ । यसअघि पाकिस्तानले किसनगंगा र रातले जलविद्युत आयोजनालाई लिएर आपत्ति जनाएको थियो । उक्त मुद्दा सन् २०१५ देखि थाती छ । पाकिस्तानले सोे समस्या समाधान गर्न तटस्थ विज्ञहरूको जुरीको प्रस्ताव गर्दै आएको छ ।

टिप्पणीहरू