नागरिकता बनाउन निवेदन बोकेर प्रशासन कार्यालय पुगे रवि

नागरिकता बनाउन निवेदन बोकेर प्रशासन कार्यालय पुगे रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सभापति रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । सर्वोच्च अदालतले उनको नागरिकतामा कैफियत ठहर गरेपछि पुनप्र्राप्तिको निवेदन लिएर उनी केहीबेरअघि प्रशासन कार्यालय पुगेका हुन् । 

सर्वोच्चको फैसलापछि गृहमन्त्री र पार्टीको सभापति पद गुमाएका लामिछाने प्रशासन कार्यालयमा पुग्दा उनका समर्थकहरुको घुइँचो लागेको छ । भीड बढेपछि त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरी पुरानै नागरिकता प्रयोग गरेको सर्वोच्च अदालतको फैसलापछि लामिछानेले एकैचोटी चार वटा महत्वपूर्ण पद गुमाएका छन् । अदालतको फैसलाले उनको सांसद, उपप्रधानमन्त्री, गृहमन्त्री र पार्टीको सभापति पद गुमेको हो । 

लामिछानेले २०५० फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता प्राप्त गरेका थिए । सन् २०१४ मा अमरिकी नागरिकता (ग्रिन कार्ड) लिएका उनले २०१८ मा त्यागेका थिए । तर, उता नागरिकता त्यागेको निस्सा प्रशासन कार्यालयलाई दिएर यताको नागरिकता जागृत गराउनुपर्नेमा उनले पुरानै नागरिकता अभ्यासमा ल्याएपछि त्यसविरुद्ध अदालतमा मुद्दा परेको हो ।

टिप्पणीहरू