स्ववियु चुनाव पूर्ण समानुपातिक बनाउन उपेन्द्रका विद्यार्थीको माग

स्ववियु चुनाव पूर्ण समानुपातिक बनाउन उपेन्द्रका विद्यार्थीको माग

जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनले स्ववियु निर्वाचन पूर्णसमानुपातिक निर्वाचन प्रणालीमार्फत गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै युनियनले यस्तो माग अघि सारेको हो ।   

स्ववियु निर्वाचनलाई सही अर्थमा सफल बनाउन निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउनुपर्ने उनीहरुको जोड छ । त्यस्तै,एक दशकपछि हुन लागेको स्ववियु निर्वाचनले संविधानका प्रावधानहरुलाई पूर्णरुपमा लागू गराउने विद्यार्थी युनियनको अपेक्षा छ । 

‘हाम्रो संगठन र त्रिविबीच भएको सहमतिअनुसार पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणसहित जोडदार माग गर्दछौँ,’पत्रमा भनिएको छ । 

साथै,स्ववियु एक संस्था मात्र नभएर आम विद्यार्थीहरुको हकहित तथा अधिकार स्थापित गर्ने साझा मञ्च रहेकाले चुनाव गराउन त्रिविले देखाएको सक्रियतालाई जसपाका विद्यार्थीहरुले सकारात्मक भनेका छन् । त्रिविले आगामी चैत्र ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको छ ।
 

टिप्पणीहरू