गृहमन्त्रीबारे माओवादी आज बोलेन, पर्सि छलफल गर्ने
नेकपा माओवादी केन्द्रको पर्सि बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुने भएको छ । सरकारको नेतृत्व गर्ने दलले नै गृह मन्त्रालय लिनुपर्ने मत पार्टीमा उठेकाले माओवादीले त्यसबारे औपचारिक छलफल गर्न लागेको हो ।
आज बसेको पदाधिकारी बैठकले दुईदिन आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठक राख्ने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुनेछ । गृहमन्त्री कसलाई बनाउने भन्ने प्रधानमन्त्रीसँग सम्बन्धित विषय भएपनि स्थायी समिति बैठकमा छलफल हुने महराले बताए ।
नेपाली नागरिकताले वैधानिकता नपाएपछि रवि लामिछाने पदमुक्त भएसँगै प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेको गृहमन्त्रालय अब आफैँ लिने माओवादीको तयारी छ । तर, हिजो नयाँ नागरिकता लिएर पार्टी सभापतिमा पुन: स्थापित भएका रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान राखेका छन् भने एमाले अध्यक्ष केपी ओलीको पनि उनलाई साथ छ ।
पदाधिकारी बैठकबाट बाहिरिने क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने गृहमन्त्रीबारे कूटनीतिक जवाफ दिनुभएको छ । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले 'बनेपछि थाहा हुने' प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले गृह, अर्थ, रक्षा, कानुन, परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालय अन्य दललाई दिएकोमा माओवादीका अधिकांश नेता असन्तुष्ट छन् ।
टिप्पणीहरू