रविको नागरिकता खारेजीसङ्गै बिदेश बस्ने नेपालीका चिन्ता

रविको नागरिकता खारेजीसङ्गै बिदेश बस्ने नेपालीका चिन्ता

सर्वोच्च अदालतको आदेशपछि रवि लामिछानेले हिजो प्रक्रिया पुर्याएर नेपालको नागरिकता लिएका छन् । संवैधानिक इजलासले विदेशी मुलुकको नागरिकता लिएपछि नेपाल फर्कंदैमा नागरिक मानिए पनि स्वतः नागरिकता कायम नहुने फैसला गरेपछि उनले अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता पुनः कायम गरेका हुन् । 

विशेषगरी अमेरिका,युरोपका विभिन्न देश र अष्ट्रेलियामा बस्दै आएका नेपालीले एनआरएनको हैसियतमा दोहोरो नागरिकताको माग राख्दै आएका छन् । उनीहरुले ती मुलुकमा रहेका नेपालीसँग पर्याप्त वैदेशिक लगानीको क्षमता रहेको भन्दै दोहोरो नागरिकताको वकालत गरेको पाइन्छ । भलै मध्यपूर्व,मलेसिया,जापान र कोरियामा रहेका नेपाली कामदारहरुले भने दोहोरो नागरिकताको विषयलाई कुनै महत्व दिएका छैनन् । उनीहरुले तोकिएको पारिश्रमिक पाउनुपर्ने र बिदाको समयमा मुलुक फर्कंदा अनावश्यक झण्झट व्यहोर्न नपरोस् भन्नेबाहेक अरु ‘विशेष’ आग्रह आफ्नै जन्मभूमिसँग गरेको देखिँदैन । 

रवि लामिछानेले झैँ विदेश जाँदा विदेशी नागरिकता र राहदानी, नेपालमा छँदा नेपाली नागरिकता र राहदानी प्रयोग गर्न पाइने आशमा विकसित मुलुकमा बसेकाहरु शुक्रबार साँझदेखि दुखित भएका छन् । उनीहरु एनआरएनले ५ सय डलर लिएर बाँडेको कार्ड कागजको खोस्टा भएको निश्कर्ष निकाल्दै निराश बनेको बताइन्छ ।

अमेरिकाको म्यासाचुसेट्समा बस्दै आएका रुद्र पाण्डेले नेपालको कुनै पनि सरकारी निकायले परिचय पत्रको रुपमा एनआरएन कार्डलाई नस्वीकारेको बताए । सोही कारण उक्त कार्ड कागजको खोस्टो बराबर भएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न बैंक अकाउन्ट खोल्न मिल्छ,न कम्पनी दर्ता गर्न मिल्छ । नेपालमा छिर्नसमेत यो कार्डले मिल्दैन–अर्को भीसा लिनपर्छ । अनि ५ सय डलर लिएर यो कार्ड दिएको चैं किन ?’

रवि लामिछानेले दुरुपयोग गरेको दोहोरो नागरिकताको कारण सर्वोच्चको शुक्रवारको आदेशसङ्गै एनआरएनले माग्दै आएको दोहोरो नागरिकताको मागमा पहिरो जान लागेको बताइएको छ । विदेशमा रहेका अधिकांश नेपालीसँग एनआरएन कार्ड र नेपाली नागरिकता दुबै छ । लाखौंसँग विदेशको पीआर र नागरिकता नै पनि छ । सरकारले नागरिकता फिर्ता लिएको छैन र रध्द पनि नगरेकाले उनै पाण्डेले नेपाल सरकारले सम्पत्ति जफत गर्ने वा बाटो देखाउनुपर्ने माग राखेका छन्  ।

सरकारले सूचना जारी गरेर नागरिकता प्रयोग भएको ठाउँलाई एनआरएन कार्डले विस्थापन गर्न मौका दिनुपर्ने माग पनि उठाइएको छ । अन्यथा,एनआरएनको सम्पत्ति राष्ट्रियकरण गर्न उनै पाण्डेले चुनौती दिँदै भनेका छन्, ‘म त च्यारिटीलाई दिन तयार छु ।’

विकसित मुलुकमा बसेका एनआरएनहरुले दोहोरो नागरिकता दिएको अवस्थामा नेपालमा विदेशी लगानीको ओइरो लाग्ने तर्क उनको  छ । ४० लाख नेपाली मुलुक बाहिर रहेमध्ये १० लाखभन्दा बढीको विदेशी नागरिकता रहेको अनुमान छ । उनीहरुले कम्तिमा १ हजार डलर लगानी गरेको अवस्थामा १ खर्ब डलर र २ हजार डलर लगानी गरेको अवस्थामा २ खर्ब डलर लगानी हुने ‘आइक्लाउड’ तर्क गरिएको छ । तर अहिले मुलुकमा अमेरिका,बेलायत, जर्मनी र अष्ट्रेलियामा रहेकाले नेपालमा विदेशी मुद्रा पठाएको रेकर्ड ज्यादै न्यून छ । बरु उनीहरुले शुरुमा विद्यार्थी भिसामा अध्ययन गर्न जाँदा हजारौं डलर यतैबाट लगेका छन् भने उता बस्न थालेपछि हुण्डीबाट यताको सम्पत्तिसमेत उता पुर्याइएको हजारौं उदाहरण छन् । 

मध्यपूर्वका विभिन्न राष्ट्र,मलेसिया, जापान र कोरियामा कामदारको रुपमा गएका सर्वसाधारण नेपालीले पठाएको विदेशी मुद्राले धन्न नेपालको नाक जोगिएको छ । उनीहरुलाई दोहोरो नागरिकता पनि चाहिएको छैन । बरु उनीहरुको सुरक्षा र पारिश्रमिकको सुनिश्चितताको निम्ति राज्यले ओठेभक्ति बाहेक केही देखाउन सकेको छैन । रविको दोहोरो नागरिकता खारेज हुँदा विदेशमा रहेका ती सर्वसाधारण नेपालीलाई भन्दा विकसित मुलुकमा आरामदायी जीवन बिताएकाहरुमा गुनासो ब्याप्त छ । त्यसो त ०७२ मा जारी सम्बिधानले नै बिदेश बस्ने नेपालीलाई राजनीतिकबाहेक आर्थिक र सामाजिक अधिकार दिएको अवस्थासमेत बिद्यमान रहेको पाइन्छ ।

टिप्पणीहरू