पोखराका व्यस्त सडकमा सवारी पार्किङ्ग गर्न रोक

पोखराका व्यस्त सडकमा सवारी पार्किङ्ग गर्न रोक

पोखरा महानगरपालिकाले मुख्य शहरी क्षेत्रका सडक खण्डमा पूर्णत: पार्किङ्ग निषेध गरेको छ । पृथ्वीचोक–सभागृहचोक–न्यूरोड–बिपीचोक–चिप्लेढुङ्गा–महेन्द्रपुल–नयाँबजार खण्डमा सवारी पार्किङ्ग पूर्ण रुपमा निषेध गरिएको हो ।  सवारीको चाप अत्याधिक वृद्धि भई आवागमन र शहरी सौन्दर्यीकरणमा अत्याधिक असर परेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सूचना जारी गर्दै तोकिएको क्षेत्रहरुमा मात्र पार्किङ्ग गर्न सुसूचित गराएको छ । 

सूचनामा भनिएको छ,‘महानगरपालिका यातायात व्यवस्थापन समितिको निर्णयअनुसार यही मिति २०७९–१०–२३ गतेदेखि उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्ण रुपमा पार्किङ्ग निषेध गरिएको हुँदा तोकिएको क्षेत्रहरुमा मात्र पार्किङ्ग व्यवस्थापन गर्नुहुन सम्पूर्ण सरोकारवालाहरुमा यो सार्वजनिक सूचना जारी गरिएको छ ।’त्यस्तै, सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ्ग गरेमा नियमानुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ । महानगरपालिकाले निश्चित शुल्क तोकेर पार्किङ्ग गर्ने स्थान तोकिदिएको छ । 

साना चार पाङ्ग्रे सवारी प्रतिघण्टा ५० रुपैयाँ र दुई पाङ्ग्रेका लागि १० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, घरधनीहरुले पनि तोकिएको शुल्कमा अण्डरग्राउण्ड पार्किङ्गमा सवारी पार्क गर्न दिन मिल्ने महानगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू