एकीकृत समाजवादीको विद्यार्थी संगठनद्वारा जनक शिक्षा घेराउ
नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र घेराउन गरेको छ ।
युनियनका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा केन्द्रको मूलगेटअगाडि विरोध तथा घेराउ कार्यक्रम गरिएको हो ।
केन्द्रमा देखिएको चरम भ्रष्टाचारको छानबिन हुनुपर्ने र विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने माग राख्दै थालिएको प्रदर्शनमा केन्द्रीय उपाध्यक्ष हिरेन्द्र शाही, महासचिव आरती लामालगायत पाँच दर्जनको उपस्थिति रहेको आयोजकको दाबी छ ।
आन्दोलनकारीहरुले हातमा प्लेकार्ड बोकेर चर्को नाराबाजी गरिरहेका छन् । उनीहरुले ‘विद्यार्थीलाई पाठ्यपुस्तक समयमा नै उपलब्ध गर’, ‘जनक शिक्षा सामग्री केन्द्रमा भएको भ्रष्टाचार छानबिन गर’, ‘सेभ जनक शिक्षा सामग्री केन्द्र’, ‘अनिलकुमार झा मुर्दावाद’, ‘अनिलकुमार झा राजीनामा दे’, ‘अनेरास्ववियु जिन्दावाद’, लगायत नारा लगाएका छन् ।
टिप्पणीहरू