रविको पासपोर्ट ओरिजिनल,प्रयोग डुप्लिकेट

रविको पासपोर्ट ओरिजिनल,प्रयोग डुप्लिकेट

रवि लामिछानेले दोहोरो राहदानी (पासपोर्ट) प्रयोग गरेको 'ओपन सेक्रेट' तथ्य हो । उनले एकैसाथ अमेरिकी र नेपाली पासपोर्ट प्रयोग गरेको यथेस्ट प्रमाण सार्वजनिक भैसकेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमै न्यायाधीश इश्वर खतिवडाले लामिछानेले दोहोरो राहदानी लिएको तथ्य स्थापित भैसकेको बताएका थिए । लामिछाने गृहमन्त्री भएपछि रोकिएको छानविन प्रक्रिया पनि प्रहरीले शुरु गरिसकेको छ । 

तर,विषयको गाम्भीर्यता नबुझी असम्बन्धित निकायमा उजुरी दर्ता हुँदा छानविन प्रक्रिया नै प्रभावित हुनसक्नेतर्फ अनुसन्धानमा संलग्न अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । सर्वोच्च अदालतमा रिट हालेर लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले अस्ति अध्यागमन विभागमा पासपोर्ट छानविनको माग गर्दै उजुरी दर्ता गराएका थिए । प्रहरीले छानविन चलिरहेको भन्दै थप उजुरी लिन अस्वीकार गरेपछि उनी उजुरी लिएर अध्यागमन पुगेका हुन् । 

लामिछानेले प्रयोग गरेको नेपाली र अमेरिकी नागरिकता र राहदानीको प्रतिलिपिसमेत पेश गरिएको उजुरीमा अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम हदैसम्मको सजाय माग गरिएको छ । तर, अध्यागमन विभागले भने राहदानी छानविनको अधिकार आफूलाई नभएको बताएको छ । 'विभागले राहदानी र भीसा सक्कली हो कि होइन भन्ने मात्रै हेर्ने हो । कुन प्रक्रियाबाट लिइयो र कसरी प्रयोग भयो भन्ने हेर्दैन,त्यो हाम्रो अधिकार क्षेत्रको कुरा होइन', अध्यागमन स्रोतले भन्यो ।

डुप्लिकेट (जाली) पासपोर्ट र भीसा प्रयोग गरेको अवस्थामा मात्रै अध्यागमन कानुन आकर्षित हुन्छ । रवि लामिछानेको हकमा उनको पासपोर्ट डुप्लिकेट होइन । रद्द भैसकेको नागरिकताका आधारमा उनले पासपोर्ट बनाएकाले त्यससम्बन्धी छानविन गर्ने अधिकार प्रहरी र राहदानी विभागलाई हुन्छ ।    

'राहदानी विभागले दिएको पासपोर्ट ओरिजिनल हो । लिने प्रक्रिया गलत भएको हुनसक्छ । त्यसकारण अध्यागमन ऐन आकर्षित हुँदैन', अध्यागमनका एक उच्च अधिकारीले भने । यद्यपि प्रहरीले अनुसन्धान टुंग्याएर थप सहयोग मागेको अवस्थामा भने विभाग तयार रहेको उनको भनाई छ । 

लामिछानेमाथि सन् २०१४ मा अमेरिकी पासपोर्ट लिएपछि लगत्तै अर्को साल रद्ध भैसकेको नागरिकता देखाएर नेपालबाट पनि पासपोर्ट बनाएको अभियोग छ । सन् २०१८ मा अमेरिकी पासपोर्ट परित्याग गरेका उनले झन्डै चार वर्ष दुबै देशको पासपोर्ट प्रयोग गरेका थिए । सर्वोच्चको फैसलापछि गत आइतबार नयाँ नागरिकता बनाएर तत्कालै उनले नेपाली पासपोर्ट फिर्ता गरेपनि राहदानी विभागले निस्क्रिय बनाएको छैन ।

टिप्पणीहरू