जब अरनिको पाँडेलाई रास्वपाको ताल देखेर अचम्म लाग्यो

जब अरनिको पाँडेलाई रास्वपाको ताल देखेर अचम्म लाग्यो

वातावरणविद् अरनिको पाँडेले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र वातावरण खल्बल्लिएको महसुस गरेपछि सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकालसँग एउटा जिज्ञासा राखे । पाँडेको प्रश्न खस्न नपाउँदै महामन्त्री ढकालले फ्याट्ट जवाफ फर्काए,

‘विराजजीलाई कसरी विश्वास गर्नु ? उहाँको भूमिका देखेर मलाई शंका छ । उपनेता पनि दिनुहुँदैन भन्ने मेरो मत थियो । तर सभापतिज्यूको जोडबलमा बनाइहालियो ।’

रास्वपाको केन्द्रीय सदस्यसमेत रहेका पाँडेले पार्टीभित्र चुलिँदो विवादबारे चासो–गुनासो राखे ।

संसदीय दलको नेताको जिम्मेवारीलाई लिएर सभापति लामिछानेसँग असन्तुष्टि व्यक्त गरे । उपनेता विराजभक्त श्रेष्ठलाई नै संसदीय दलको नेताको जिम्मेवारी दिनुपर्ने पाँडेको तर्क थियो । नागरिकता प्रकरणले तत्कालीन गृहमन्त्री रवि लामिछानेको संसदीय दलको नेताको पद खोसिएपछि ‘म्यानपावर एजेन्ट’समेत रहेका श्रममन्त्री डीपी अर्याललाई नेताको जिम्मेवारी दिइएको छ । उपनेता हुँदाहुँदै महामन्त्री ढकालको ‘केटाकेटीपना’ले विवादित छविका सांसद अर्याललाई त्यो जिम्मेवारी सुम्पिएको रास्वपाका नेताहरू बताउँछन् । पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेका बेला शीर्ष नेता पाँडेले सभापति लामिछानेलाई महामन्त्री ढकालको धेरै विश्वास नगर्न सल्लाह दिएका छन् । ‘सभापतिज्यू, तपाईंको नियतमा कुनै शंका छैन ।

हाम्रो पार्टीलाई सबैतिरबाट घेरा हालिएको छ । पार्टीभित्र संस्थागत निर्णय जरुरी छ । विराजजीलाई अन्याय भएको छ । महामन्त्रीजीको भूमिका खासै राम्रो देखिएन,’ रविसँग पाँडेले भने। केन्द्रीय सदस्य पाँडे मात्र होइन रास्वपाका अधिकांश सांसद, केन्द्रीय सदस्य महामन्त्री ढकालसँग रुष्ट छन् । सभापति लामिछानेको आडमा उनले हुर्किँदै गरेको पार्टीमा बेग्लै समूह चलाउन खोजिरहेको उनीहरूको आरोप छ । समानुपातिक सांसद छनौटका बेला मेडिकल  ‘गुरुआमा’ चन्दा कार्कीलाई ढकालले काखी च्यापे । निर्वाचनताका महत्वपूर्ण भूमिका खेलेका अन्य उम्मेदवारको नाम सूचीबाट काटिदिए ।

अन्ततः ‘गुरुमा’लाई सांसद बनाइछाडे । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको ठाउँमा उनै चन्दालाई मन्त्री वा राज्यमन्त्री बनाउन खोजेको रास्वपाका एक सांसदले जनाएका छन् । पार्टी जन्मेदेखि नै उनी विवादको घेराभित्र छन् । ढकाललाई महामन्त्रीको जिम्मेवारी नदिन केन्द्रीय सदस्य र सांसदहरूले सभापतिलाई बारम्बार आग्रह गरेका छन् । ‘राजनीति नबुझेको मान्छेलाई पार्टीको शक्तिशाली पद दिएपछि के हुन्छ ? ढकालजी पैसा उठाउनमा माहिर हुनुहुन्छ । उहाँको मेडिकल माफिया र म्यानपावर एजेन्टसँग राम्रो सम्बन्ध छ । तर पार्टी त त्यसरी चल्दैन,’ सभापतिनिकट एक नेताले भने।

टिप्पणीहरू