नेताहरु सत्ताको जोड घटाउमा मस्त, राजदूतहरु तराईमा व्यस्त

नेताहरु सत्ताको जोड घटाउमा मस्त, राजदूतहरु तराईमा व्यस्त

ठूला र प्रमुख दलका नेताहरु सत्ता राजनीतिको तानातानमा व्यस्त हुँदा अमेरिकी र भारतीय राजदूतहरु भने तराईका विभिन्न भेटघाटमा सक्रिय छन् । यसक्रममा हिजो बिहान अमेरिकी राजदूत डिन आर थम्पसन विराटनगर र भारतीय राजदूत नवीन श्रीवास्तव जनकपुर जानुभएको छ ।

जनकपुरको होटल सीताशरणमा भारतीय राजदूतले लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग मध्यान्ह एक घण्टा छलफल गर्नुभएको छ । त्यसपछि सोही होटलमा राजदूतले नेपाली काँग्रेसका सांसद मुक्ता यादव,तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विभा ठाकुरसहित सात जना नेता, कार्यकर्तासँग ४५ मीनेट छुट्टाछुट्टै कुराकानी गरेको बुझिएको छ ।

राजदूत श्रीवास्तव वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा भएको दुई दिने गोष्ठीमा भाग लिन जनकपुर जानुभएको बताइएको छ । तर, उहाँले गोष्ठी अगावै मधेशको राजनीतिमा संलग्न स्थानीय नेताहरुसँग पालैपालो कुराकानी गर्नुभएको हो ।

उता नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले पनि हिजै विराटनगर पुगेर भेटघाट थाल्नुभएको छ । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जानुभएका थम्पसनले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहितको टोलीसँग बिहान १० बजे कुराकानी गर्नुुभएको थियो । 

त्यसपछि स्थानीय बन्जारा चोकस्थित होटल हेरिसनमा अमेरिकी राजदूतको टोलीले प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतसँग एक घण्टा वार्तालाप गरेको प्राप्त समाचारमा जनाइएको छ ।राजदूतको टोली दिउँसो २ बजेदेखि ३ बजेसम्म रानी मस्जिद अवलोकनको निम्ति गएको थियो । सो क्रममा मस्जिदका प्रमुखलगायतसँग वार्तालाप गरेको विराटनगरस्थित संवाददाताले जनाएका छन् ।

मस्जिद अवलोकनपछि उक्त टोली जोगबनीस्थित माइती नेपालको कार्यालय अवलोकन गर्न साढे ३ बजे पुगेको थियो ।
 

टिप्पणीहरू