नेपाल र मलेसियाबीच नयाँ श्रमिक सहकार्य गर्ने समझदारी

नेपाल र मलेसियाबीच श्रमिक सहकार्यसम्बन्धी पुरानो समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीबीच आज भएको भेटमा यस्तो सहमति भएको हो । 

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा मलेसियास्थित नेपाली कामदारको हकहित,सुरक्षा र कल्याणका विषयमा द्विपक्षीय संवाद भएको थियो । सो क्रममा प्रधानमन्त्रीले नेपाली कामदारका बारेमा चासो राख्दै मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला १२ सय रिंगेटबाट बृध्दि गरेर १५ सय बनाएकोमा धन्यवाद दिनुभयो ।

यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागु गर्ने प्रतिवध्दता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताउनुभयो ।

प्रधानमन्त्रीले मलेसियामा नेपाली श्रमिकहरू इमान्दारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा बृध्दि गर्न मलेसिया सरकारलाई आग्रह गर्नुभयो । मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी,विश्वासिलो,प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा समेत उहाँले जोड दिनुभयो । 

'आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ’, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले राख्नुभएको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेशिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताउनुभयो । उहाँले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिनुहुँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले नेपाली श्रमिकहरूको प्रशंसा गर्दै कामदारहरूलाई सहज हुने गरी अन्य नीतिगत सुधारका लागि समेत मलेसियाले गृहकार्य गर्ने पनि बताउनुभयो ।

भेटका अवसरमा दुबै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकास लगायतका क्षेत्रमा रहेका सम्भानाहरूमा समेत मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।

हिजो नेपाल आइपुगेका मलेसियाका गृहमन्त्री  इस्मालीले श्रममन्त्री डोलराज अर्यालसँग पनि आज दिउँसो भेटवार्ता गर्नुभएको थियो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू