पर्यटन मन्त्री फेरि किन छड्के हान्न पुगे विमानस्थल ?

पर्यटन मन्त्री फेरि किन छड्के हान्न पुगे विमानस्थल ?

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणमा निस्किए । उनले आन्तरिक विमानस्थल छेउ नेपाल वायुसेवा निगमको ह्याङ्गर निरीक्षण गरेको,अन्तर्राष्ट्रियतर्फ यात्रु आगमन र प्रस्थान दुबैतर्फका क्षेत्रको अनुगमन गरेको बुझिएको छ  । 

तर उनको जोड सर्वसाधारणले दुःख भोग्नुपरेको भन्दा पनि अन्य क्षेत्र र इकाइतिर रहेकोेमा धेरैले आश्चर्य मानेका छन् । मन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य ब्लकको प्रस्थान कक्ष,अपरेशन ब्लक,नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ्ग कक्ष,निगमको ह्याङ्गर र लजिस्टिक कक्ष तथा आन्तरिक टर्मिनलको सरसर्ती अनुगमन गरेको पाइयो ।

मन्त्रीले अपरेशन ब्लकतर्फ नेपाल वायुसेवा निगमको मात्रै निरीक्षण गरेको तर अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलको ग्राउण्ड ह्याण्डलिङमा हुने गरेको यात्रुको सामान चोरी, अन्तर्राष्ट्रियतर्फ फाइनल स्टेरलाइज चेकिङमा हुने अमानवीय व्यवहारबारे खासै चासो नराखेको नागरिक उड्डयन प्राधिकरण श्रोतले बतायो । 

हवाई व्यवस्थापन नियम र सुरक्षालाई देखाउँदै यात्रुको सामान लुट्ने प्रवृत्ति,ब्यागेज कलेक्सन तथा लिने स्थान,टिकेटिङमा यात्रुहरुसँग बिना बिलको शुल्क असुली र अध्यागमनतर्फ अनलाइन सिस्टमको डिभाइस,आफन्तका बिदाई तथा स्वागतको निम्ति सवारी पार्किङ गर्दा असुल्ने गरिएको अस्वाभाविक शुल्कबारे कुनै सोधनी नगरिएपछि मन्त्रीको पटक पटकको विमानस्थल निरीक्षण कार्य विवादमा परेको सोही सूत्रको दावी छ ।

तर,आजको निरीक्षण अनुगमन क्रममा सँगै रहेका अरु सरकारी अधिकारीले भने ती सब आरोपका लागि आरोप मात्रै भएको बताए । ‘मन्त्रीज्यूले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको प्रतिनिधिका रूपमा आएका जिएम प्रेमनाथ ठाकुरलाई थोत्रा ट्रलीबारे सोधनी गर्नुभयो । ब्रेक नभएका र असुरक्षित ट्रलीको सम्बन्धमा ठाकुरलाई हायलकायल बनाउने गरी जिज्ञासा राख्नुभयो ।’

मन्त्रीले सम्बन्धित कार्यालय र निकायका प्रमुखहरुलाई आफूले अनावश्यक दबाब नदिने प्रतिबध्दता व्यक्त गर्दै जनचासोलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको बताइन्छ । निरीक्षण र निर्देशनपछि मन्त्री भैरहवातर्फ प्रस्थान गरेका छन्  ।

टिप्पणीहरू