राष्ट्रिय स्वतन्त्र पार्टी ‘ब्याक’ हुने सम्भावना बढ्यो,एमाले पनि ब्याक हुने माओवादी बुझाइ
राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक चलिरहेको छ । केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक आज साँझ ८ बजेलाई बोलाइएको थियो ।
बैठक अहिले पनि बसुन्धारास्थित पार्टी कार्यालयमा भइरहेको छ । अस्ति राति बसेको पार्टी बैठकले गृह मन्त्रालयको जिम्मेवारी आफ्नो दललाई दिनुपर्ने माग आज मध्यरात १२ बजेसम्म पूरा हुनुपर्ने अल्टिमेटम दिएको थियो । अल्टिमेटमको समय सकिन अब मुश्किलले दुई घण्टा बाँकी छ ।
तर,उक्त पार्टीले पहिलेको निर्णयमा पुनर्विचार गर्ने सम्भावना बढेको बताइएको छ । सभापति रवि लामिछानेबाहेक अन्य मन्त्री र नेताले सरकारसँग नयाँ सम्झौता गर्ने लाइनमा बैठकमा छलफल भइरहेको स्रोतको दाबी छ ।
बिहान बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि पार्टी मुख्यालय पेरिस डाँडा पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठकमा त्यसबारे कुनै रिपोर्टिङ नगर्नुभएको एक जना सहभागीले बताए । ‘उहाँले केही भन्नुभएन तर,हिजोभन्दा आज टेन्सन फ्रि भएर आउनुभएको देखिन्थ्यो,’ ती सदस्यले उल्लेख गरे ।
माओवादी गृह मन्त्रालय कुनै हालतमा अन्य पार्टीलाई नदिने अडानमा छ । जसले जस्तो खालको दबाब दिए पनि माओवादी गृहको अडानबाट दायाँबायाँ नगर्ने मुडमा पुगेको बताइन्छ ।
उता एमाले पनि सरकारलाई छाडेर चटक्कै फर्कन नसक्ने अवस्थामा रहेकाले प्रधानमन्त्री ढुक्क हुनुभएको बुझिन्छ । एमालेले राष्ट्रपति नपाए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने कुनै आधार फेला नपरेकाले पनि राष्ट्रपतिको चुनाव र गृह मन्त्रालयको जिम्मेवारीमा माओवादीको हात माथि पर्दै गएको बताइन्छ । राष्ट्रपतिको निर्वाचन मिति तोके पनि उम्मेदवारबारे ठोस कुराकानी नभएकाले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने प्रश्न नै नउठेको माओवादी नेताहरुको बुझाइ छ ।
टिप्पणीहरू