युएसएआईडीकी प्रशासक सामन्था पर्सि आउने,बुधवार फर्कने
द युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेण्ट ‘युएसएआइडी’ की प्रशासक सामन्था पावर नेपाल भ्रमणका लागि पर्सि आउने भएकी छन् । उनी मंगलबार राति सवा १२ बजे काठमाडौं ओर्लने तालिका छ । कतार एअरवेजको उडान नम्बर ६४४ बाट दोहा भएर आउने पावर राति साढे १ बजे होटल हायात पुग्ने कार्यक्रम छ । रातको समय भएकाले उनलाई सुरक्षा टोलीले एस्कर्टिङ गर्ने छैन ।
भोलिपल्ट बिहान ८ बजे बबरमहलको साप फाल्चामा नागरिक समाजसँग अन्तरक्रिया गरेपछि उनी १० बजे परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा भाग लिन सिंहदरबार पुग्ने कार्यक्रम छ । बैठकपछि ११ बजे भक्तपुरको सानोठिमीस्थित आदर्श स्कूलको भ्रमणमा जानेछिन् ।
त्यहाँबाट सोझै थानकोटस्थित सिन सिड सर्भिस सेन्टरको अवलोकन भ्रमणमा साढे १२ बजे पुग्ने र ३ बजे पाटन दरबार स्क्वायर, संग्रहालयको भ्रमणमा जाने बताइएको छ । साँझ ५ बजे पाटनमा सांस्कृतिक यात्रा गरेपछि त्यहीँ रात्रिभोजको कार्यक्रम छ । त्यहाँबाट राति ९ बजे होटल हायात पुग्ने छिन् ।
भोलिपल्ट बुधबार बिहान पौने ८ बजेदेखि कपन नजिकैको कृष्ण मन्दिरदेखि कपन गुम्बासम्म हाइकिङ गर्ने तालिका बनाइएको छ । उक्त यात्रामा मीरा राई पनि हुनेछिन् । त्यहाँबाट पौने १० बजे होटल फर्केपछि साढे ११ बजे सिंहदरबारमा अर्थमन्त्रीसँग भेटघाटको निम्ति पुग्ने कार्यतालिका छ । सो दिनको दिवा भोज सिंहदरबार दक्षिण गेट नजिकैको होटल बसेरामा हुनेछ । त्यसपछि अमेरिकी दूतावास महाराजगञ्ज जाने पावरको साढे ३ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताको समय तय गरिएको छ ।
त्यहाँबाट निस्केपछि होटल हायातमा पौने ५ बजे राखिएको प्रेस सम्मेलनमा उपस्थित हुने कार्यक्रम राखिएको छ । ८ बजे होटल हायातमा रात्रिभोज र केही उच्चपदस्थ अमेरिकी कूटनीतिज्ञहरुसँग भेटघाट गरेपछि मध्यरात १२ बजे विमानस्थल पुग्ने बताइएको छ । बिहान सवा २ बजे कतार एअरवेजको उडान नम्बर ६४५ बाट दोहा हुँदै स्वदेश फर्कने कार्यक्रम मोटामोटी तय गरिएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बताएको छ ।
टिप्पणीहरू