पार्टी बैठकमा रवि लामिछानेका कुरा ठूला, प्रवृत्ति पुरानै

पार्टी बैठकमा रवि लामिछानेका कुरा ठूला, प्रवृत्ति पुरानै

राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो राति बोलाएको आकस्मिक बैठक निश्कर्षविहीन रूपमा स्थगित गरिएको छ । राति ८ बजे बोलाइएको पार्टी केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक ११ बजेसम्म लम्बिएको थियो ।

बिहीबार रातिको बैठकले गृह मन्त्रालयको जिम्मेवारी आफ्नो दललाई दिनुपर्ने माग हिजो मध्यरात १२ बजेसम्म पूरा हुनुपर्ने अल्टिमेटम दिएको थियो । अल्टिमेटमको समय सकिन मुश्किलले दुई घण्टा बाँकी छँदा हिजो राति बैठक बोलाइएको हो ।

बैठकमा सभापति रवि लामिछाने,मुकुल ढकाल र दिपक बोहोराबाहेक अन्य मन्त्री र नेताले सरकारसँग नयाँ सम्झौता गर्नुपर्ने, सरकार छाड्न नहुने,गृह मन्त्रालयमा अत्तो थाप्न नहुने र सभापतिलाई नै गृह मन्त्रालय दिनुपर्ने मागले पार्टीलाई क्षति पुग्ने धारणा राखेपछि उक्त बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

हिजो साँझपख बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि राति आकस्मिक बैठक बोलाइएको हो । गृह मन्त्रालय कुनै हालतमा आफ्नो पार्टीलाई नदिने अडानमा प्रधानमन्त्री रहेको देखिएपछि रविले नयाँ रणनीति बनाउन बैठक बोलाएका थिए ।

उता एमाले अध्यक्षले पनि गृहबाहेक अन्य आकर्षक मन्त्रालय दिएर भए पनि रविको पार्टीलाई सरकारमा सामेल गर्नुपर्ने मध्यमार्ग निकाल्नुभएको बताइन्छ ।

टिप्पणीहरू