बिनोद चौधरी बैंकको हिसाब मिलाउन कोलम्बो प्रस्थान

बिनोद चौधरी बैंकको हिसाब मिलाउन कोलम्बो प्रस्थान

डलर अर्बपति विनोद चौधरी श्रीलंकाको राजधानी कोलम्बो गएका छन् । चौधरी श्रीलंकन एअरको उडान नम्बर युएल १८२ बाट दिउँसो सवा १ बजे त्यता गएका हुन्  ।

डलर अर्बपति तथा काँग्रेस सभासद विनोद चौधरीले त्यहाँको एउटा समस्याउन्मुख बैंक खरिद गरेका छन् । नेपालको विद्यमान विदेशी मुद्रा कारोबार सम्बन्धी कानुनले विदेशमा लगानी गर्ने छुट कसैलाई पनि दिएको छैन । तर, चौधरी विदेशमा खोलिएको एउटा कम्पनीमार्फत उताको डलर उतै खर्चेको हिसाब मिलाउन आज कोलम्बो गएका हुन् ।

चौधरीले युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर किनेका छन् । उनले लिन लागेको बैंकको सेयर कारोबार मूल्य डेढ महिनाअघि प्रतिकित्ता श्रीलंकन रुपैयाँ ७.६० थियो । तर, चौधरीले ठूलो हिस्सा सेयर खरिद गर्ने सहमतिपछि कोलम्बोमा सो बैंकको सेयर मूल्य क्रमशः घटेको बताइन्छ ।

डलर अर्बपति युनियन बैंकको यसअघिको मुख्य लगानीकर्ता कल्चर फाइनान्सियल होल्डिङ्स प्रालिबाट सेयर खरिद गरेकाले उक्त सम्झौता कार्यान्वयनको निम्ति आज कोलम्बो उडेका हुन् । चौधरीको निजी कम्पनी सिजी क्यापिटल पार्टनर ग्लोबल प्रालिले सो सेयर किन्ने सम्झौता भएको थियो । 

उक्त कम्पनीले बैंकको ७६ करोड ७५ लाख ५८ हजार कित्ता सेयर किनेको छ । उक्त सेयर संख्याको आधारमा बैंकको स्वामित्व ७०.८४ प्रतिशत हुन आउँछ । औसतमा श्रीलंकन रुपैयाँ ६ मा प्रतिकित्ता सेयर किनबेच गरिएको स्रोतको दाबी छ । उनले स्थानीय रुपैयाँ ४ अर्ब ६० करोड ५३ लाखभन्दा बढी बराबरको १ करोड २६ लाख १८ हजार अमेरिकी डलर भुक्तानी गर्ने प्रक्रिया शुरु गरेका छन् । 

यसअघि उनले सन् २००१ मा कोलम्बोस्थित ताज समुद्र होटलमा पनि बाहिर बाहिरैबाट डलर लगानी गरेका थिए ।

 

टिप्पणीहरू