बिरामी मोडललाई विदेशमा रहेका नेपालीको सहयोग

बिरामी मोडललाई विदेशमा रहेका नेपालीको सहयोग

वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब एमिरेट्स (युएई) मा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले एक जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । लामो समयदेखि ब्रेन ह्यामरेजका कारण शारीरिक रुपमा अस्वस्थ्य रहेकी मोडल पूर्णिमा थोकरलाई आर्थिक सहयोग गरेको बताइएको छ ।

आफ्नै कोठामा अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई ब्रेन ह्यामरेज भएको चिकित्सकहरुले बताएका हुन् । हाल नेपालमा रहेकी उनको शरीरको आधा भाग नचले पनि उठ्न सक्ने अवस्थामा रहेको समाजले जनाएको छ । परिवारका अनुसार उनको बोली र दाहिने हात अझै चल्न सकेको छैन ।

बिरामीको घर पुगेर तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, कोषाध्यक्ष खेम मोक्तान, आदिवासी जनजाति पत्रकार महासंघ युएईका पूर्व अध्यक्ष अनिस तामाङ, म्हेन्दो माया गायक एवम् संगीतकार रोशन फ्युबोलगायतले तामाङ समाज युएईले पठाएको आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

सांगीतिक प्रस्तुतिका लागि युएई पुगेका विश्व दोङमार्फत् समाजले ७३ हजार नेपाली रुपैयाँ पठाएको हो । त्यसमध्ये ५० हजार रुपैयाँ तामाङ समाज युएईको तर्फबाट र बाँकी २३ हजार रुपैयाँ समाजका संरक्षक एवम् संस्थापक राम मोक्तान र महेश मोक्तानले पठाएको समाजका महासचिव नवीन दोङ तामाङले जानकारी गराए ।
 

टिप्पणीहरू