मध्यराति अर्को अमेरिकी टोलीको आगमन

मध्यराति अर्को अमेरिकी टोलीको आगमन

अमेरिकी सहयोग नियोग द युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेण्ट ‘युएसएआइडी’ की प्रशासक सामन्था पावर नेतृत्वको उच्चस्तरीय टोली गए राति काठमाडौं आएको छ । नियोग प्रशासकको नेतृत्वमा आएको छ सदस्यीय टोली राति साढे १२ बजे आइपुगेको हो ।

कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा दोहाबाट आएको टोलीमा पावरसहित वरिष्ठ सल्लाहकार मिगुअल क्यामिलेरी, उपप्रशासक रेबिका सारा चालिफ, विशेष सहायक तथा सल्लाहकार इसाबेला सी ब्लेचा,निजी सुरक्षा सल्लाहकार लान डब्लु गोदरिज र यात्रा निर्देशक रोनाली डे अल्विस छन् । 

टोलीलाई त्रिभुवन विमानस्थलमा काठमाडौंस्थित नियोगको कार्यक्रम तथा परियोजना विकास कार्यालयका उपनिर्देशक चार्ल्स एसोलिटिस्ले स्वागत गरेका थिए । बौध्दस्थित हायात होटलमा बसेको टोलीको अहिले बिहानदेखि व्यस्त कार्यतालिका रहेको बताइन्छ । 

आज बिहान ८ बजे बबरमहलको साप फाल्चामा नागरिक समाजसँग अन्तरक्रिया गरेपछि टोली १० बजे परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा भाग लिन सिंहदरबार पुग्ने कार्यक्रम छ । बैठकपछि ११ बजे भक्तपुरको सानोठिमीस्थित आदर्श स्कूलको भ्रमण हुने बताइएको छ ।

त्यहाँबाट सोझै थानकोटस्थित सिन सिड सर्भिस सेन्टरको अवलोकन भ्रमणमा साढे १२ बजे पुग्ने र ३ बजे पाटन दरबार स्क्वायर,संग्रहालयको भ्रमणमा जाने कार्यक्रम छ । साँझ ५ बजे पाटनमा सांस्कृतिक यात्रा गरेपछि त्यहीँ रात्रिभोजको कार्यक्रम छ । 

भोलि बिहान पौने ८ बजेदेखि कपन नजिकैको कृष्ण मन्दिरबाट कपन गुम्बासम्म हाइकिङ गर्ने तालिका बनाइएको छ । उक्त यात्रामा मीरा राई पनि हुनेछिन् । त्यहाँबाट पौने १० बजे होटल फर्केपछि साढे ११ बजे सिंहदरबारमा अर्थमन्त्रीसँग भेटघाटको निम्ति पुग्ने योजना छ । 

भोलिको दिवा भोज सिंहदरबार दक्षिण गेट नजिकैको होटल बसेरामा हुनेछ । त्यसपछि अमेरिकी दूतावास महाराजगञ्ज जाने टोलीले साढे ३ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताको समय मिलाएको छ ।

होटल हायातमा भोलि पौने ५ बजे प्रेस सम्मेलन बोलाइएको छ । राति ८ बजे होटल हायातमा रात्रिभोज र केही उच्चपदस्थ अमेरिकी कूटनीतिज्ञहरुसँग भेटघाट गरेपछि मध्यरात १२ बजे विमानस्थल पुग्ने तालिका छ । बिहान सवा २ बजे कतार एअरवेजको उडान नम्बर ६४५ बाट दोहा हुँदै स्वदेश फर्कने कार्यक्रम मोटामोटी तय छ ।

 

टिप्पणीहरू