कृषिमा बिचौलिया रोक्न एम्बुलेन्स सञ्चालन गर्दै इच्छाकामना

कृषिमा बिचौलिया रोक्न एम्बुलेन्स सञ्चालन गर्दै इच्छाकामना

चितवनको इच्छाकामना गाउँपालिकाले कृषिजन्य सामग्री दुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले संघीय सरकारको सहयोगमा यस्तो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । 

पालिकाका अध्यक्ष दानबहादुर गुरुङले पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलाई लक्षित गरेर कृषि एम्बुलेन्स खरिद गर्न लागेको बताए । उनका अनुसार किसानले उत्पादन गरेका कृषिजन्य उपज घुम्ती सेवामार्फत किसानका घरबाट बजारसम्म पुर्याउन यो कार्यक्रम अघि बढाईएको हो ।

पालिकाको वडा नं. १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीलाई तीन ओटा कृषि एम्बुलेन्समार्फत बजारसम्म पुर्याउने अध्यक्ष गुरुङको भनाइ छ । आफ्नो पालिकाभित्रका किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीहरुलाई सजिलैसँग बजारसम्म पुर्याउनुका साथै बिचौलियाको बिगबिगी बन्द गरी किसान तथा उपभोक्ता दुवैलाई उचित मूल्यमा कृषि सामग्री उपलब्ध गराउने उद्देश्यका साथ एम्बुलेन्स सञ्चालन गर्न लागेको उनले बताए ।

‘कृषि एम्बुलेसन खरिदका लागि संघीय सरकारले ४० लाख बजेट व्यवस्थापन गरिदिएको छ,’उनले भने,‘त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा÷आधा रकमको व्यवस्थापन हुनेछ ।’ अध्यक्ष गुरुङका अनुसार संघीय सरकारसँगै पालिका र कृषि समूह तथा सहकारीले २५/२५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरिद गर्ने योजना गरेको हो । 

तीन वटा एम्बुलेन्स खरिदका लागि करिब ८५ लाख खर्च लाग्ने अनुमान गरेको गाउँपालिकाले जनाएको छ । विशेषगरी पालिकाको वडा नं. १ को भाराङ, र हात्तीवाङ वडा नं. २ को मायाटार र वल्याङ र वडा नं. ७ को दाहाखानीलगायतका क्षेत्रलक्षित गरी उक्त साधन खरिद गर्न लागेको अध्यक्ष गुरुङले जानकारी दिए ।
 

टिप्पणीहरू