सत्ता नै सबैथोक, कस्तो होला यो रोग ?

सत्ता नै सबैथोक, कस्तो होला यो रोग ? – दर्शन शर्मा

राजहठ, बालहठ र स्त्रीहठसामु कसैको केही लाग्दैन भनिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा कुन हठ सवार छ कुन्नि, उनलाई गृह मन्त्रालय नभई भएन र सरकार छाडिदिए ।

माघ १५ गते दिउँसो लामिछानेले नेपाली नागरिकता पुनप्र्राप्त गरे । त्यही दिन साँझ आमन्त्रित सदस्यको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी भए । त्यहीँबाट केन्द्रीय सदस्य चुनिए । त्यसपछि रास्वपा केन्द्रीय समितिको बैैठक बस्यो । बैठकले उनलाई सभापति चयन गर्‍यो । त्यसको केही मीनेटमै पार्टीको तेस्रो बैठक बस्यो । जसको अध्यक्षता लामिछानेले नै गरे । बैठकले संगठन विस्तारको निर्णय गर्‍यो, यो देखाउनको लागि गरिएको निर्णय थियो । खास निर्णय त गृह मन्त्रालयको दाबी कायमै राख्नु हो ।

पुस १० गते सत्ता गठबन्धन बन्दै गर्दा लामिछानेले गृहमन्त्रालयमा दाबी गरे । त्यसको भोलिपल्ट संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा गृह मन्त्रालयमा दाबी गरिरहँदा आफ्नो नागरिकता छानबिन भइरहेको बिर्सेका थिएनन् । नागरिकता छानबिन गर्ने निकाय प्रहरी गृह मन्त्रालयमातहत हुने कुरा राम्रैसँग थाहा थियो । लामिछानेले नीति र निष्ठाको राजनीति गर्दा हुन् त सरकारमा जाने थिएनन् । यदि सरकारमा जाँदा हुन् त गृह मन्त्रालय नरोज्दा हुन् । नागरिकताको अध्याय समाप्त भएको छ । दोहोरो राहदानीको विषयमा छानबिन जारी छ ।

गृह मन्त्रालयले माघ ६ गते अदालतबाट दोषी ठहर भई फरार रहेका एमालेका महोत्तरी–१ का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न भन्दै विज्ञप्ति जारी ग¥यो । सभामुख निर्वाचनको दिन अर्थात् माघ ५ गतेको संसद बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले कोइरीले मत दिन पाउने नपाउनेबारे निर्णय गरेर मात्रै संसद बैठक थाल्न माग गरे । भोलिपल्ट निकालेको विज्ञप्तिमा लामिछानेले नेपाल प्रहरीलाई ती सांसदलाई पक्राउ गर्न दिएको मौखिक निर्देशनको पालना भएको गम्भीर आरोप तेस्र्याइएको छ । यो विज्ञप्तिलाई सांसद खतिवडाले माघ ७ गतेको संसद बैठकमा गृहमन्त्रीले केटाकेटीपन देखाएको भन्दै आलोचना गरे । खतिवडा मात्रै होइन, कानुनका जानकार र पूर्व प्रहरी कर्मचारीले पनि यसमा आपत्ति जनाए । गर्नु पर्ने काम नगर्ने अनि वक्तव्यबाजी गर्ने लामिछानेको काम केटाकेटीपन नै हो ।

पिर्के सलामीले पनि लामिछानेलाई आलोचना र विवादमा तान्यो । पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका लामिछाने पुस १४ गते सरकारी निवास प्रवेश गरे । गृह प्रवेशको क्रममा रातो पिर्कामाथि उभिएर लिइँदै आएको सलामी लिन अस्वीकार गरेपछि स्याबासी बटुले । तर, त्यो स्याबासी धेरै दिन टिकेन । पुस १४ गते पिर्के सलामी अस्वीकार गरेका उनले१६ गते सशस्त्र प्रहरीको कार्यक्रममा पिर्कामाथि चढेर सलामी लिए ।

पुस ५ गते नै संसद् भवनबाहिर प्रमाण पुर्‍याए श्रम मन्त्रीलाई कारबाही गर्ने बताए । उनकै पार्टीबाट प्रतिनिधित्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल म्यानपावर कम्पनी सञ्चालक रहेको र स्वार्थ बाझिने गरी अर्याललाई मन्त्रालय दिएको भन्दै टिप्पणी भएका थिए । म्यानपावर कम्पनीमा रहेको जानकारी पाए कारबाही गर्ने लामिछानेको उद्घोष थियो । सञ्चारमाध्यमले मन्त्री अर्याल म्यानपावर कम्पनीमा आबद्ध रहेको प्रमाण नै सार्वजनिक गरे । तर, लामिछानेको बोली फेरियो ।

एक महिने गृह मन्त्रालय सम्हाल्दाको प्रतिबद्धता र फेरिएको बोलीको सूची लामै छ । चाहे विशिष्टको निजी काममा खटिएका सुरक्षाकर्मी फिर्ता गराउनेदेखि निर्मला पन्त, निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानसम्मका कुरा छन् । सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा आफूलाई व्यवस्था गरिएको सोफा फेर्न लगाउनेदेखि काठमाडौंबाट चितवन जाने बेला विमानस्थलभित्र बस चढ्नेसम्मको स्टन्ट र सरकार छाड्दाको पत्रकार सम्मेलनमा व्यक्त विवादास्पद विचारले लामिछानेलाई गृहमन्त्री कम स्टन्टबाज ज्यादा बनाएको छ । अब फेरि जिम्मेवारीमा आउँदा आफ्नो जिम्मेवारीभन्दा बाहिर रहेर अभिव्यक्ति दिँदैनन् र विज्ञप्ति निकाल्दैनन् भन्ने आश गरौं ।

टिप्पणीहरू