मन्त्रीलाई भारत र सचिवलाई अफ्रिका जान अनुमति

मन्त्रीलाई भारत र सचिवलाई अफ्रिका जान  अनुमति

क्याबिनेट बैठकले रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई भारत भ्रमणको स्वीकृति दिएको छ । रक्षामन्त्री उप्रेतीको नेतृत्वमा फागुन १ देखि ५ गतेसम्म हुने भ्रमण क्याबिनेटले स्वीकृत गरेको हो । 

त्यस्तै,ऊर्जा,जलस्रोत तथा सिन्चाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई दक्षिण अफ्रिकामा हुने ‘आइडब्लुएमआई’ छलफलमा पठाउने क्याबिनेटको निर्णय छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले हिजो बसेको क्याबिनेटको १४ बुँदे निर्णय सार्वजनिक गर्दै मन्त्री उप्रेती र सचिव सिग्देलको विदेश भ्रमण स्वीकृत गरेको जानकारी दिनुभयो । 

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र संघीयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालयमा ल्याउने क्याविनेटमा निर्णय भएको छ ।

१४ बुँदे निर्णयमा पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने, बागमती बाँध आयोजनाको कार्यान्वयन अघि बढाउन काठमाडौंको गोकर्णश्वर नगरपालिका वडा नम्बर १ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्तिका लागि अनुमति दिने, सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिनेलगायत छन् ।

टिप्पणीहरू