राष्ट्रपति गृहजिल्ला जाने तयारीमा, स्वागतमा पञ्चेबाजा बजाइने

राष्ट्रपति गृहजिल्ला जाने तयारीमा, स्वागतमा पञ्चेबाजा बजाइने

राष्ट्रपति विद्यादेवी भण्डारी आज गृहजिल्ला भोजपुर जान लाग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा बिहान साढे ९ बजे त्यता जाने कार्यक्रम तय भएको बताइएको छ । उहाँ सेनाको हेलिकोप्टर एनए ०५८ अगुस्तामा बिहान साढे ९ बजे भोजपुर प्रस्थान गर्नुहुनेछ । हेलिकोप्टर राष्ट्रपति भवन शीतल निवास सामुन्ने रहेको भैरवनाथ गणको हेलिप्याडबाट उड्ने छ ।

उहाँ भोजपुरका लिङ्खुखोला र दिङ्लामा आयोजित विभिन्न कार्यक्रम सहभागी हुनुहुनेछ । सबैभन्दा पहिले पौने ११ बजे साल्पा सिलिछो गाउँपालिका १, गौडेनीमा आयोजना गर्न लागिएको योगमाया स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यसबखत पञ्चेबाजाले स्वागत गर्न आवश्यक तयारी पूरा भएको जनाइएको छ । आज उक्त गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

स्थानीय पशुपतिनाथ मन्दिरमा पूजा गरेपछि राष्ट्रपतिले योगमायाको शालिक अनावरण गर्नुहुने छ । सवा १२ बजेको समयमा उहाँ मजुवाबेसीमा रहेको योगमायाको समाधिस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

त्यसपछि हेलिकोप्टरमा दिङ्ला जाने र १ बजे दिवा खाना खाने बताइन्छ । उहाँ आजै साँझ राजधानी फर्कनुहुनेछ ।

टिप्पणीहरू