आर्मी अफिसरमा लाखौंको ‘घुस’ ?

आर्मी अफिसरमा लाखौंको ‘घुस’ ?

सुदूरपश्चिम प्रदेशका रमेश (नाम परिवर्तन) नेपाली सेनाको अनुशासनबाट प्रभावित भएर नेपाली सेनामा भर्ना हुने चाहना राखेका थिए । निजामती कर्मचारीभन्दा सैन्य सेवामा मन लगाएका उनले तीन पटक क्याडेट अफिसर अर्थात् सेकेन्ड लेफ्टिनेन्टमा प्रयास गरे । वीर गोर्खाली भनेर चिनिने नेपाली सेनामा संलग्न हुनु उनको जीवनको सबैभन्दा ठूलो लक्ष्य थियो । सोही कारण सैन्य सेवामा प्रवेश गर्न तीन पटकससम्म परीक्षा दिएका हुन् । ६१ औँ, ६२ र ६३ औँ ब्याचका लागि परीक्षा दिएका रमेश सफल हुन सकेनन् । 

सबै परीक्षाअन्तर्गत विभिन्न चरणको जाँच पास गरेका उनी तीनै पटक बीसी (बोर्ड अफ कन्फरेन्स) मा फालिएका हुन् । बीसीमा पुगेपछि अनेक चलखेल हुँदा आफू सफल हुन नसकेको रमेशको दाबी छ । ‘धेरै नम्बरबाट फोन आउँथ्यो । यति पैसा दिए तिम्रो जागिर पक्का भनेर प्रलोभनमा पार्थे’, उनी भन्छन्, ‘तर मसँगको जवाफ थिएन । सामान्य परिवारको मान्छे १० लाख हुने कुरै भएन । ४२ हजार रुपैयाँको जागिरका लागि १० लाख कहाँबाट खोज्ने ? धेरै फोन आउन थालेपछि मैलै एक हप्तासम्म फोन स्वीच अफ नै गर्नुपर्यो ।’

भनिन्छ, फौजी संगठनमा कडा अनुशासनको पालना हुन्छ । भ्रष्टाचार र आर्थिक अनियमितताको कल्पना पनि गर्न सकिँदैन । रमेशलाई पनि त्यस्तै लाग्थ्यो । र, त्यसैबाट लोभिएर उनी सेनामा जागिर खान चाहन्थे । तर, सामान्य पदका लागिसमेत लाखौँ रकम बार्गेनिङ गरिएको सुनेपछि उनको दिग्दारीको सीमा कटेको हो । आफ्नो योग्यता र क्षमता हुँदा पनि लगातार तीन पटक फालिएपछि विदेश जाने तरखरमा रहेका उनी भन्छन्, ‘पावर र पैसा नहुनेले आर्मी अफिसरको जागिर खाने सपना नदेखे हुन्छ । अब विदेश गएर उतै श्रम गर्छु ।’

रमेशजस्तै तिलक (परिवर्तित नाम) पनि लगातार दुई पटकसम्म प्रयास गर्दा बीसीमै रोकिएका हुन् । उनको अनुभव छ, ‘मेडिकलमा पास हुनलाई पावर लाग्दो रहेछ । त्यहाँ भनिदिने मान्छे हुनुपर्छ । लिखित पास भएपछि पैसाको कुरा आयो । मलाई पनि १५ देखि २० लाखसम्मको डिमाण्ड आएका थिए ।’ तर, आफ्नो योग्यता हुँदाहुँदै पनि घुस नखुवाउने अडानमा बसेपछि उनले सैन्य सेवामा प्रवेश नगर्ने निर्णय लिएका छन् । उनी पनि विदेश जाने भन्दै आवश्यक तयारीमा लागेको बताउँछन् ।

त्यस्तै, हाल अधिकृत क्याडेटमा पास भएर तालिम लिइरहेका एक जनाले १५ लाख बुझाएर खुशी पारेपछि जागिर पक्का भएको बताए । उनी पनि एक पटक लिखित पास गरेपछि बोर्ड कन्फरेन्सबाटै फालिएका थिए । त्यतिबेला उनीसँग बिचौलियाले तत्काल १५ लाख मागेको उनको भनाइ छ । ‘त्यो बेला बुबाले रकम व्यवस्थापन गर्न सक्नुभएन र म फेल भएँ’ उनी भन्छन्, ‘पछिल्लो पटक भने फोन कल आउँदा मैले उनीहरुको अफर स्वीकारेँ ।’

विदेशमा रहेका भिनाजुसँग पैसा मागेर भित्रकै जर्नेललाई १५ लाख बुझाएको दाबी गरेपनि ती जर्नेलको नाम उल्लेख गर्न नसक्ने बाध्यतमा रहेको उनको भनाइ छ । त्यसपछि मात्र आफ्नो नाम उतीर्ण लिष्टमा चढेको उनले स्मरण गरे । 

बाहिर सेनाको सेवा प्रवेशमा त्यस्तो कुनै अनियमितता नहुने चर्चा सुनिए पनि वास्तविकता ठीक उल्टो रहेको उनी बताउँछन् । आफैँ भुक्तभोगी रहेको उल्लेख गर्दै भने, ‘तोकिएका हाकिमको हातमा पैसा नपुगेसम्म सेनामा जागिर खान नचिताए हुन्छ ।’ पहिलो पटक पैसा नदिँदा अफिसरले ‘साइक्लोजी म्याच’ नभएको भनेर फालेपछि १५ लाख बुझाएका उनको अहिले ‘म्याच’ भएको हो ।

यस विषयमा नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले ती आरोपलाई अस्वीकार गरेका छन् । उनले भने, ‘आफू छनोट नभएपछि आक्रोशित हुँदै मान्छेहरुले विभिन्न आरोप लगाउँछन् । छनोट प्रक्रियामा अफिसरको क्षमता हेरिन्छ, सबैमा त्यो नहुन सक्छ । तर आर्थिकको कुरा छ । त्यो प्रमाणीत भए त्यस्तो काम गर्ने भित्रका अफिसरलाई कारबाही गर्छौं ।’

टिप्पणीहरू