जंगी अड्डामा प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारहरुको बैठक

जंगी अड्डामा प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारहरुको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा प्रमुख सुवेदार ज्येष्ठ सुवेदारहरुको समन्वयात्मक बैठक सम्पन्न भएको छ । हिजो र आज आयोजित बैठकको समापन प्रधान सेनापति प्रभुराम शर्माले गर्नुभएको छ । 

सहभागीहरुलाई सम्बोधन गर्दै शर्माले प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरु युनिट तथा सब–युनिटहरुका सबैभन्दा पुराना र अनुभवी भएकाले तिनलाई नेपाली सेनाको मेरुदण्डको संज्ञा दिनुभएको छ । उनीहरुको उत्साहजनक प्रयासबाट पल्टनको तयारीपन, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारीलगायत क्षेत्रमा नतिजामुखी उपलब्धी हासिल गर्न उहाँको निर्देशन छ ।

बैठकबाट प्राप्त रायसुझावलाई समग्र अध्ययन गरी यथाशीघ्र सम्बोधन गर्न सम्बन्धित विभागहरुलाई निर्देशन समेत दिनुभएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनामा सैन्य पदमा भर्ना भई पदोन्नती हुँदै पुग्ने राजपत्र अनंकितको वरिष्ठतम पद नै प्रमुख सुवेदार तथा जेष्ठ सुवेदार हो । पल्टनको संस्कृति, परम्परा र रीतिरिवाजबारे जानकार तथा जिम्मेवार प्रमुख सुवेदार तथा जेष्ठ सुवेदारलाई नेपाली सेनामा अति महत्वपूर्ण नियुक्तिका रुपमा लिने गरिएको छ । । 

उनीहरुले सैनिक इकाइहरुमा अन्य दर्जा र अधिकृतका बीचमा समन्वयकर्ताको भूमिका निर्वाह गर्दै आएका छन् । बैठकमा ९० जना प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरुको उपस्थिति थियो ।

टिप्पणीहरू