मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि उद्योगमन्त्री गृह प्रदेशमा

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि उद्योगमन्त्री गृह प्रदेशमा

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी धनगढी जानुभएको छ । एमालेको सुदूरपश्चिमाञ्चल प्रदेश कमिटी अध्यक्षसमेत रहनुभएका भण्डारी आज काठमाडौंबाट त्यता जानुभएको हो ।

उहाँ श्री एयरलाइन्सको उडानमा साँझ ६ बजे जानुभएको बताइएको छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले भोलिसम्ममा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक समयसीमा छ । सरकार गठनमा सहयाेग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासकाे मतमा समर्थन नगरेसम्म एमालेका मुख्यमन्त्रीलाई बहुमत पुग्ने अवस्था छैन ।

विश्वासको मत नदिने भन्दै आएको उन्मुक्ति पार्टीसँग रावललगायत धेरै नेताले डिल्लीबजार कारागारमा रहेका उक्त पार्टीका संरक्षक रेशम चौधरीसँग यसअघि कुराकानी गरिसकेका छन् । आ–आफ्नोतर्फबाट लबिङ गर्न यसअघि काँग्रेस प्रदेश सभामा संसदीय दलका नेता कमल शाह, समाजवादी दलका नेता दीर्घ सोडारी, काँग्रेस सभापति शेरबहादुर देउवाका भतिज प्रकाश देउवा छुट्टाछुट्टै डिल्लीबजार धाएका थिए ।

आफ्ना सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि विश्वासको मतबारे कुनै निर्णय नगरेको नागरिक उन्मुक्ति पार्टी थप बिच्किएको छ । चौधरी गत बिहीबार पक्राउ परेपछि जेल चलान भएका छन् ।

टिप्पणीहरू