कर्मचारीको मनोमानी रोक्न चन्द्रनगरका कार्यालयमा ई–हाजिरी

कर्मचारीको मनोमानी रोक्न चन्द्रनगरका कार्यालयमा ई–हाजिरी

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आँउदो फागुन १ गतेबाट कर्मचारीका लागि ई–हाजिरी संचालनमा ल्याउने भएको छ । गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयमा गाउँपालिकाले अनिवार्य ई–हाजिरीको व्यवस्था गर्न लागेको हो । 

केही कर्मचारी र शिक्षकहरु नियमित उपस्थित नहुने तथा आफूखुसी बिदामा बस्ने गुनासो बढेपछि ई–हाजिरीको व्यवस्था गर्न लागिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए । पालिकाले सबै शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयलाई पत्राचार गर्दै फागुन १ गतेबाट अनिवार्य रुपमा ई–हाजिरी संचालनमा ल्याउन भनेको छ । 

त्यस्तै, छुट्टी चाहिएमा वा आधा दिनको बिदा लिनुपरेमा कारणसमेत खोलेर नियमानुसार निवेदन दिनुपर्ने बताइएको छ । ‘फागुन १ गतेबाट अनिवार्य रुपमा ई–हाजिरी गर्नुहुन र कार्यालय छोड्दा सो दिनको नियमानुसारको कागजातसहित कारणसमेत खोल्नुपर्ने छ अन्यथा नियमानुसार गयल कट्टी भैजाने व्यहोरासमेत अनुरोध छ’, पत्रमा भनिएको छ । 

कर्मचारी तथा शिक्षकहरु कार्यालय नआउने, कार्यालय समयअगावै निस्किने, कार्यालयमा रहँदा तोकिएको पोशाक नलगाउने, परिचयपत्र नझुण्डाउनेलगायतका गुनासो बढेको गाउँपालिकाको भनाइ छ । 

जनताले तिरेको करबाट तलब खाने सबैलाई गुणस्तरीय सेवा प्रदान गर्न जिम्मेवार भई अघि बढ्न पालिकाको आग्रह गरेको छ ।
 

टिप्पणीहरू