राष्ट्रपतिमा अझै छ रन्को

राष्ट्रपतिमा अझै छ रन्को

विद्या भण्डारीपछि देशकै सबैभन्दा माथिल्लो पद राष्ट्रपतिको कुर्सीमा को पुग्ला ? राष्ट्रपति निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक वृत्तमात्रै होइन आमतहमा पनि यसबारे चर्चा र चासो चुलिएको छ।

संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकेकाले ०७४ साल फागुन २९ गते निर्वाचित राष्ट्रपति भण्डारीको कार्यकाल आउँदो फागुन २९ गतेसम्म बाँकी छ । त्यसअघि नै फागुन २५ गतेका लागि निर्वाचनको मिति तोकिएको छ भने १३ गते मनोनयन दाखिला गर्ने निर्वाचन कार्यतालिका छ । तर, राजनीतिक समीकरण प्रष्ट नहुँदा शीतल निवासको कुर्सीमा को पुग्छ खुलिसकेको छैन । त्यसका लागि कम्तिमा फागुन १३ सम्म कुर्नुपर्ने हुन्छ । 

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेस र एमालेले उमेदवारी दिने करिब पक्कापक्की छ । अरु साना दलले उम्मेदवार उठाए पनि जित्ने अवस्था छैन । संसदमा जस्तै राष्ट्रपति निर्वाचनमा निर्णायक भोट लिएर बसेको माओवादी केन्द्रले एमाले र कांग्रेसले उठाउने उम्मेदवारमध्ये जसलाई भोट हाल्छ उसैले जित्ने हो । तर, माओवादीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने प्रस्ताव अघि सारेकाले ऊ कता फर्कने हो, खुलेको छैन । त्यसकारण राष्ट्रपति पद आफ्नो पोल्टामा पार्न कस्सिएर लागेका कांग्रेस र एमालेलाई माओवादीकै भर पर्नुपर्ने बाध्यता छ ।  

यस्तो अनिश्चितताको पृष्ठभूमिमा प्रमुख पार्टीका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ । एमाले अध्यक्ष केपी ओलीले दैनिकजसो प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरिरहनु भएको छ । पुस २६ गते कांग्रेसले प्रधानमन्त्रील़ाई विश्वासको मत दिएपछि सशंकित हुनुभएका ओली त्यसयता बालुवाटार र सिंहदरबार दौडाहामा हुनुहुन्छ । अस्ति उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । त्यही दिन काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि सँगै राखेर उहाँहरुको छुट्टै छलफल भयो । 

आफैँ बालुवाटार र सिंहदरबार धाइरहने अध्यक्ष ओलीले हिजो आफ्नो निवास बालकोट बोलाएर प्रधानमन्त्री प्रचण्डसँग लामै कुराकानी गर्नुभयो । भावी राष्ट्रपतिबारे चासो बढिरहेकाले बालकोटको कौसीमा दुई नेता घाम ताप्दै बसेको फोटोले राम्रै चर्चा पनि पायो । तर,अहिलेसम्म ठोस सहमतिको संकेत भने मिलेको छैन । 

तर, एमाले स्रोतले भने दुई अध्यक्षबीच राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा हिजोको छलफलपछि मोटामोटी समझदारी जुटिसकेको दावी गरेको छ । एमालेले अघि सारेको उम्मेदवारलाई राष्ट्रिय सहमतिको उम्मेदवार बनाएर जान प्रचण्ड सहमत भएको उक्त स्रोतको दावी छ । 

एमालेले अष्टलक्ष्मी शाक्य,सुवास नेम्वाङजस्ता नरम पात्रलाई उम्मेदवार बनाए माओवादीले समर्थन गर्ने सम्भावना छ भनिन्छ । तर,इश्वर पोखरेल,डोरमणि पौडेल, सीता पौडेल,गुरु बराल ,सत्यनारायण मण्डलजस्ता नामहरू ओलीको खल्तीमा छन् । खल्तीका नाम छेक्नैका लागि माओवादीले राष्ट्रिय सहमतिको प्रस्ताव ल्याएको एमालेका कतिपय नेताहरुको दावी छ ।

माओवादी नेताहरुले भने त्यस्तो दावीको खण्डन गरेका छन् । एमालेले अघि सारेको उम्मेदवारलाई कांग्रेसको समेत समर्थन हुने अवस्थामा मात्रै आफूहरुले सघाउने ती नेताले बताए । उनले भने, 'हाम्रो स्थायी समिति बैठकको निर्णय जे हो,त्यसमा अध्यक्ष प्रतिवध्द हुनुहुन्छ । दायाँबायाँ हुन्छ भन्ने लाग्दैन ।'  

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोटमा भएको समझदारीअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने एमालेको अडान छ । त्यतिबेलै एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भएको उनीहरुले दावी गर्दै आएका छन् । तर, पुस १० को समझदारीपछि पुस २६ गते अर्को परिस्थिति विकसित भएकाले नयाँ ढंगले जानुपर्ने माओवादी नेताहरुको तर्क सुनिन्छ । माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले राष्ट्रिय सहमतिको अधिकतम प्रयास गर्ने तर त्यो सम्भव नहुँदा बिचार मिल्ने दलको उम्मेदवारलाई सघाउने निर्णय गरेर एमाले र काँग्रेसलाई समदूरीमा राखेको छ । 

माओवादीको निर्णयले एमाले सशंकित भैरहँदा कांग्रेस भने आशावादी देखिन्छ । पहिलो दुई वर्षे कार्यकालको प्रधानमन्त्री दिन आनाकानी गर्ने कांग्रेस अब प्रचण्डलाई पाँचै वर्षको प्रधानमन्त्री दिएर अन्य भागबण्डामा सामेल हुने प्रयत्न गरिरहेको छ । सत्ता गठबन्धन भत्काउन प्रयास गरिरहेको उसले ओलीबाट अलग्याएर प्रचण्डलाई पाँच वर्षे प्रधानमन्त्री बनाउन भित्रभित्रै कसरत जारी राखेको छ । त्यसका लागि तत्कालीन गठबन्धनका पक्षधर दुवैतर्फका केही नेताहरु लागि परेका छन् ।  

संयोग नै मान्नुपर्छ,हिजो बालकोटमा ओली र प्रचण्डबीच सहमति जुटेको दावी भैरहँदा काँग्रेस महामन्त्री गगन थापाले एमालेका उम्मेदवारलाई जुनसुकै मूल्यमा हराउने दावी गरेका छन् । एमालेको राष्ट्रपति बन्दा 'कठपुतली महामहिम राष्ट्रपति' हुने भएकाले त्यसलाई रोक्न कांग्रेसले सबै प्रयास गर्ने उनले प्रष्ट बताएका छन् । 

राष्ट्रपति विद्या भण्डारीबाट हायलकायल भएकाले होला गगनको भनाईसँग माओवादीका नेताहरु पनि सहमत छन् । भण्डारीको कार्यकाल अत्यन्तै विवादास्पद रहेकाले केपी ओलीले अघि सार्ने उम्मेदवारलाई माओवादीले समर्थन नगर्ने माओवादी केन्द्रका एक जना सचिवले बताए । 'राष्ट्रपति देशकै सम्मानित पद हो । तर,उहाँ (भण्डारी)का कतिपय कार्यशैलीले गणतन्त्रको प्रतिक राष्ट्रपति संस्थामाथि नै आम मान्छेले प्रश्न उठाए । त्यसकारण फेरि उहाँजस्तै अमुक दलको पनि अमुक नेताप्रति बफादार हुने व्यक्तिलाई राष्ट्रपति बनाउन हुँदैन । अहिले नै बिचार पुर्याउन नसकेपछि पछुताउनुबाहेक के बिकल्प बाँकी रहन्छ  र !', उनले भने । 

राष्ट्रपति भण्डारीमाथि संविधानअनुसार देशको अभिभावकीय भूमिकामा भन्दा पनि विगतमा आफू संलग्न दलको विवाद मिलाउन बढी सक्रियता देखाएको आरोप बौध्दिक तप्काबाट पनि लाग्ने गरेको छ । उहाँले एमाले र ओलीको 'फेभर' मा काम गरेको भनी आम तहमा पनि असन्तुष्टी देखिन्छ । ओली प्रधानमन्त्री हुँदा संसद विघटनजस्तो गम्भीर निर्णय पाँचै मीनेटमा सदर गर्ने उहाँले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा क्याबिनेटको निर्णयसमेत त्यसै झुलाएको आरोप पनि लागेको छ । यही कारण माओवादी र कांग्रेसका नेताहरु एमालेलाई राष्ट्रपति दिन नहुने निष्कर्षमा पुगेको बुझ्न कठिन छैन। 

 

टिप्पणीहरू