नागरिक उन्मुक्तिका सांसदहरु अनुपस्थित्, मुख्यमन्त्री रावलको पद धरापमा

नागरिक उन्मुक्तिका सांसदहरु अनुपस्थित्, मुख्यमन्त्री रावलको पद धरापमा

मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक नागरिक उन्मुक्ति पार्टीले बहिष्कार गरेको छ । 

अहिले जारी बैठकमा उन्मुक्तिका सांसद अनुपस्थित देखिन्छन् । उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

उक्त पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेशसभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी सत्ता गठबन्धनसँग केवल २१ मत छ । जुन आवश्यक मत २७ भन्दा ६ भोट कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन पाएका थिए । त्यतिबेला उनलाई २९ सांसदको समर्थन थियो ।

संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्री रावलले आज विश्वासको मत प्राप्त गर्न नसके संविधानको अर्को धारा अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।

टिप्पणीहरू