माओवादीले समाजवादीसँग एकता गर्ने

माओवादीले समाजवादीसँग एकता गर्ने

नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच पार्टी एकताको  समझदारी जुटेको छ । माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडामा आज भएको एकता वार्तामा केही दिनमै पार्टी एकता गर्न दुवै पक्षका नेताहरु सहमत भएको बताइएको छ ।

वार्तामा दुई पार्टीको एकताका वैचारिक आधारबारे खुलेर छलफल भएको र निकट दिनमै एकता गरेर अगाडि बढ्ने सहमति भएको बुझिएको छ । 

माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी (सुशील) र उपाध्यक्ष उपाध्यक्ष तिलक मगर वार्तामा सहभागी थिए । बुढाथोकी र मगर दुबै माओवादीको तर्फबाट संविधानसभा सदस्य थिए । 

माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किरातीले माओवादी केन्द्र पुनर्गठन गरेपछि उनीहरू दुबैजना सोही पार्टीमा थिए । पछि किरातीले वैचारिक अस्पष्टता देखाएको भन्दै उनलाई हटाएर बुढाथोकी अध्यक्ष भएका थिए । र, पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी समाजवादी बनाएका थिए । देशव्यापी पार्टी संयन्त्र भएको माओवादी समाजवादी विप्लव, आहुती, ऋषि कट्टेलसमेत सम्मिलित संयुक्त मोर्चाको एक सक्रिय पार्टी हो ।

टिप्पणीहरू