रविन्द्र मिश्रले 'मार्ग परिवर्तन' गरेपछि खुम्चिएको विवेकशील पुनर्संगठित हुँदै

रविन्द्र मिश्रले 'मार्ग परिवर्तन' गरेपछि खुम्चिएको विवेकशील पुनर्संगठित हुँदै

वैकल्पिक राजनीति त्यागेर रवीन्द्र मिश्रले 'मार्ग परिवर्तन' गरेपछि कमजोर भएको विवेकशील साझा पार्टी महाधिवेशनमा होमिएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सो पार्टीको प्रथम महाधिवेशन आजबाट शुरु भएको हो । 

महाधिवेशनको उद्धघाटन सत्रमा बिभिन्न पार्टीका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा एकीकृत समाजवादीका घनश्याम भुषाललगायत महाधिवेशनस्थलमा पुगेका छन् ।

संस्थापक अध्यक्ष मिश्रले मार्ग परिवर्तनका नाममा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता संविधानका आधारभूत विषयमा विमति जनाएपछि विवेकशीलमा विवादको विजारोपण भएको थियो । जसका कारण छिन्नभिन्न भएको सो पार्टीले गत निर्वाचनमा निराशाजनक परिणाम ल्याएको थियो । 

यस्तो अवस्थामा पार्टीलाई पुनर्संगठित गर्न महाधिवेशन आयोजना गरेको सो पार्टीका नेताहरुले बताएका छन् । नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेकाे विवेकशीलले महाधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गर्नेछ । हालका अध्यक्ष समीक्षा बाँस्कोटा, नेताहरु प्रकाशचन्द परियार र मिलन पाण्डे अध्यक्षका लागि आकांक्षी छन् । 

महाधिवेसनमा दाहालले राजनीतिक दस्तावेज पेश गर्नेछन् भने प्रस्तावित विधान भने रमेश पौडेल पेस गर्ने मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ । जसअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, काेषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण हुनेछ ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् ।

टिप्पणीहरू