राजनीतिक संकट गहिरिएको विप्लव नेतृत्वको मोर्चाको निश्कर्ष

राजनीतिक संकट गहिरिएको विप्लव नेतृत्वको मोर्चाको निश्कर्ष

संसद बाहिर रहेका चार वटा वामपन्थी पार्टीको संयुक्त मोर्चाले देशको राजनीतिक अवस्था संकटग्रस्त रहेको निश्कर्ष निकालेको छ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको चार दलीय मोर्चाको आज बसेको बैठकले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै यस्तो निश्कर्ष निकालेको हो । 

बैठकपछि मोर्चाले सार्वजनिक गरेको विज्ञप्तिमा देशको राजनीतिक स्थिति चरम संकट र गम्भीर अवस्थामा रहेको उल्लेख छ । त्यस्तै, आजको बैठकले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा एकता एवम् ध्रुवीकरणका निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । 

पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरि सार्वजनिक गर्न फागुन १५ गते अर्को बैठक बस्ने चार दल सहमत भएका छन् । 

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुति र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी सहभागी थिए ।

टिप्पणीहरू