काँग्रेससँगै बसेको एकीकृत समाजवादी एकैसाथ सत्तामा
नेपाली काँग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धन भताभुङ्ग भएपछि प्रतिपक्षमा पुगेका नेपाली काँग्रेस र एकीकृत समाजवादी सत्तामा फर्किएका छन् । एमाले नेतृत्वको गठबन्धन सरकार एकै महिनामा ढलेपछि सुदूरपश्चिमबाट यी दुई दलको सत्तामा ’इन्ट्री’ भएको छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा हिजो मुख्यमन्त्री नियुक्त भएका काँग्रेस संसदीय दलका नेता कमल शाहले समाजवादीलाई समेत समेटेर आज क्याबिनेट गठन गरेका छन् । प्रदेश प्रमुख देवराज घिमिरेवाट पद तथा गोपनियताको सपथ लिएसँगै उनले पहिलो चरणमा दुई सदस्यीय क्याबिनेट बनाएका हुन् ।
नवनियुक्त दुई मन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवाका भतिज प्रकाश देउवा र समाजवादीसम्बद्ध युवा संगठनका अध्यक्ष नरेश शाही छन् । देउवाले भौतिक पूर्वाधार विकास र शाहीले आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी पाएका छन् । दुवै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावललाई गठबन्धनको एउटा घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनी स्वतः पदमुक्त हुँदा काँग्रेसले सरकारको नेतृत्व प्राप्त गरेको हो । हिजो रावलले विश्वासको मत लिने अन्तिम दिन प्रदेशसभा बैठकमा उन्मुक्तिका सांसदहरु अनुपस्थित भएका थिए ।
गत पुस २७ गते एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए । ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमतसिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ताघटक नागरिक उन्मुक्तिले साथ छाडेपछि गठबन्धन सरकार ढलेको हो ।
संविधानको धारा १६८ (३) अनुसार बनेको नयाँ सरकारले पनि एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । तर, सरकार गठनमा निर्णायक संख्या (७ मत) लिएर बसेको उन्मुक्ति पार्टीले समर्थन नगरे मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त हुँदैन ।
टिप्पणीहरू