वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क तालिम, इलेक्ट्रिसियनमा सबैभन्दा धेरै प्रशिक्षार्थी

वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क तालिम, इलेक्ट्रिसियनमा सबैभन्दा धेरै प्रशिक्षार्थी

वैदेशिक रोजगारीमा जाने कामदारका लागि निःशुल्क सीपमूलक तालिमको व्यवस्था गरिएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गतका विभिन्न शिक्षालयहरुसँग १७ वटा विषयमा सम्झौता गरेको छ । 

हाल चार हजार ९८० जनालाई तालिम प्रदान गरिसकिएको जानकार दिइएको छ । १० हजार कामदारलाई निःशुल्क सीप तथा तालिम प्रदान गर्ने लक्ष्य राखेको सचिवालयले चालु आर्थिक वर्षमा सातवटै प्रदेशका २२ वटा जिल्लामा रहेका परिषद्का आंगिक शिक्षालयमार्फत् सञ्चालन हुने १७ वटा विषयमा छोटो अवधि (१६० घण्टाको) वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन गरिएको हो ।

वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकलाई सुरक्षित, मर्यादित र सीपमूलक बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको सचिवालयका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले बताए । 

सचिवालयले शिक्षालयहरुसँग गरेको सम्झौतामा प्रत्येक विषयमा २० जना प्रशिक्षार्थी हुनुपर्ने व्यवस्था छ । एउटै विषयमा बढी प्रशिक्षार्थी सहभागी भएमा भिन्दाभिन्दै समयमा कक्षा लिनुपर्ने छ ।

प्रशिक्षार्थी १८ वर्ष पूरा भएको हुनुपर्ने र तालिममा भाग लिन राहदानीको फोटोकपी अथवा राहदानी बनाउन राजस्व बुझाएको रसिदको फोटोकपीलगायत कागजपत्र सम्बन्धित तालिम संस्थामा पेश गर्नुपर्ने कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ । 

सचिवालयका प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाका निर्देशक सीता दुवाडीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत सीपविकास तालिम कार्यविधि, २०७५ बमोजिम तालिम सञ्चालन गर्नुपर्ने जानकारी दिए । तालिमको गुणस्तर, अनुगमन र प्रशिक्षण विधि सचिवालयले तय गरेअनुरुप हुनुपर्ने उनको भनाइ छ । 

‘हामीले यस चालु आर्थिक वर्षमा निःशुल्क १० हजारलाई सीपमूलक तालिम प्रदान गर्ने उद्देश्यानुसार १५ करोड रुपैयाँ बजेट छुट्याएका छौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को मान्यताप्राप्त आंगिक शिक्षालयहरुसँग सम्झौता गरी तालिम शुरु भएको छ । बाँकीको हकमा अन्य तालिम प्रदायक शिक्षालयहरुसंग कार्यक्रम प्रक्रियामा रहेको छ ।’

डोटी, गुल्मी, पाल्पा, इलाम, महोत्तरी, सिरहा, स्याङ्जा, चितवन, बाँके, कञ्चनपुर, दोलखा, काठमाडौं, नुवाकोट, जाजरकोट, दाङ, काभ्रेपलाञ्चोक, काठमाडांैको साँखु, झापा, कास्की, बाग्लुङ, तेह्रथुम र रुपन्देही गरि २२ वटा जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको शाखा अधिकृत गायत्री अधिकारीले बताइन् ।

उनकाअनुसार हाल सम्झौता भएकामध्ये माघ १७ गतेदेखि काभ्रेपलाञ्चोकमा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, कञ्चनपुरमा रहेको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय, बाँकेमा रहेको भेरी प्राविधिक शिक्षालयलगायतले तालिम सञ्चालन गरिसकेका छन् । 

पलम्बरका लागि ९२०, मेशिन तालिमका लागि ६८०, इलेक्ट्रिसियनका लागि एक हजार ३००, सुरक्षा गार्डका लागि ४००, वेटरका लागि १२०, किचन हेल्परका लागि ८१०, असिस्टेण्ट स्काफोल्डिङका लागि ८०, असिस्टेण्ट टायल मार्बल फिक्चरमा ३२० प्रशिक्षार्थी छन् ।

त्यसैगरी, ६० जनाले हाउस किपिङ एटेण्डेनटमा, ४० जनाले हाउस पेन्टरमा, ४० जनाले जुनियर फर्निचर मेकरमा, ६० जनाले गार्मेण्ट मेशिन अपरेटरमा, ४० जनाले स्टिल फिक्चरमा, १६० जनाले वेल्डरमा र २० जनाले हाउस किपिङमा तालिम लिने भएका छन् ।

टिप्पणीहरू